२३ जेष्ठ २०७३, आईतवार

छैठौ खेलकुद प्रतियोगिताका लागि धनगढीमा निर्माण हुन लागेको रंगशालाको प्याराफिट र खेलकुद मैदानको निर्माण कार्य अलपत्र परेको छ ।

रंगशालाको प्याराफिट र खेल मैदान गुणस्तरहीन भएको भन्दै अख्तियारमा निवेदन परेपछि ‘काम अघि नबढाउन’ अख्तियारले रोकेपछि रंगशालाको निर्माणकाय अलपत्र परेको हो ।

छैठौं खेलकुद प्रतियोगिता जसोतसो सम्पन्न भए पनि यस क्षेत्रको खेलकुद विकासको लागि मेरुदण्ड मानिएको धनगढी रंगशाला निर्माणले भने अझै गति लिन सकेको छैन ।

अख्तियारको निर्देशनका कारण प्रभावित बनेको धनगढी रंगशालामा ठेकेदार कम्पनीले पनि तालाबन्दी गरिएको छ । ठेक्का सम्झौता अनुसार काम सम्पन्न गरिए पनि एक वर्ष वितिसक्दा समेत  भुक्तानी नपाएको भन्दै दिवा निर्माण सेवा प्रालिका ठेकेदार शेरसिंह खड्काले रंगशालामा निर्माण भएको प्याराफिटमा तालाबन्दी गरिदिएका हुन् । करिब २ करोड १५ लाख रुपैया भुक्तानीका लागि विल भौचर एक वर्ष अघि पेश गरेपनि अहिलेसम्म भुक्तानी नपाएकोले तालावन्दी गर्नुपरेको ठेकेदार खड्काले बताए ।

यता कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले भने ठेकेदारले समयमा नै निर्माण सम्पन्न नगरेको र अनुमानित लागत भन्दा बढी काम गरेको विल भौचर पेश गरेकोले भुक्तानी रोकिएको हुनसक्ने बताए । काम पुरा नभएकोले जिल्ला खेलकुद विकास समिति कैलालीले आफ्नो मातहतमा रंगशाला नलिएको बताउँदै अध्यक्ष सिंहले काम पुरा हुनासाथ हस्तान्तरण प्रक्रिया जाने बताए ।

२०६८ साल फागुनमा सुदूरपश्चिमाञ्चलमा छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएपछि त्यहाँ रहेको खेलकुद मैदानलाई त्यही वर्षको श्रावणदेखि रंगशाला बनाउने घोषणा गरेसंगै निर्माणको काम समेत शुरु भएको थियो ।

ठेकेदार र राष्ट्रिय खेलकुद परिषदको विवादका कारण यहाँ हुने प्रतियोगिताहरु नियमित हुन नसकिरहेको अवस्थामा रंगशाला निर्माणमा समेत विभिन्न कारणले भैरहेको अवरोधले यस क्षेत्रको खेल भविष्य नै अन्यौलमा परेको छ ।

LIVE TV