२३ जेष्ठ २०७३, आईतवार

निरन्तर बढेर लगानीकर्ताहरुलाई अपत्यारिलो खुसी दिलाइरहेको नेपालको सेयरको कारोबारमापक सूचक नेप्से साताको शुरुमै ह्वात्तै घटेर धेरैलाई चिन्तित तुल्याएको छ ।

साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ३४ दशमलव ९८ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ४ सय ८३ दशमलव १४ अंकमा घटेको छ ।

बजेट भाषणपछि नेप्से परिसूचक ओरालो लाग्न थालेको हो । बजेटमा सेयर बजारलाई सहयोग पुग्ने नीति नआएकोले लगानीकर्ताहरु उत्साहित हुन सकिरहेका थिएनन् । बैंक तथा वित्तीय सस्था संचालनमा आएको ७ वर्ष पछि नै संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न पाउने व्यवस्थाले बजार ओरालो लागेको हो । संस्थापकहरुको सेयर ह्वात्तै बजारमा आएर आपूर्ति बढ्दा माग र मूल्य दुवै घट्ने सेयरका लगानीकर्ताहरुको विश्लेषण रहेको छ ।

त्यसैगरी पछिल्लो समय देखिएको प्रमुख राजनीति दलहरुबीचको सरकार परिवर्तनको खेलले पनि सेयर बजारमा ठूलो प्रभाव पारेको सम्बद्ध पक्षको भनाइ छ । सरकार परिवर्तनका लागि सत्तारुढ एमालेभित्रै असन्तुष्टि बढेको छ भने त्यसलाई विपक्षी कांग्रेसले मलजल गरिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि आफू तथा अन्य कमरेडहरुको कार्बाही बचाउन सरकारको नेतृत्वको दाउ हेरिरहेका छन । राजनीतिक अस्थिरताको सूचना सार्वजनिक सञ्चारका माध्यमहरुमा पनि छरपस्ट आएकोले बजारमा सेयर किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको छ ।

बजेट आउनुभन्दा पहिला बीमा क्षेत्रको सेयर मुल्य उच्च विन्दुमा पुगेकाले पनि सो समुहको सेयर ओरालो लागेको हो । बीमा सम्बन्धमा बजेट आएको नयाँ व्यवस्थाको वारेमा मुख्य लगानीकर्ताले पहिला नै थाहा पाएर बजार बढाएका थिए र बेचेर लाभ लिइसकेका थिए । विनाकारण बजार धेरै नै बढेकोले पनि घट्ने अवस्थामा पुगेको सेयरका विश्लेषकहरु बताउँछन । कर्जाको खुकुलो व्यवस्था पनि अव राष्ट्र बैंकले कडाई गर्ने तयारी गरिरहेको छ ।

पुँजीवृद्धिको चापले बैंक तथा वित्तीय संस्थाहरुले दिने प्रतिफल पनि घट्ने निश्चित छ भने सेयर बजारको उचाई चुम्ने एउटा अर्को चक्र पनि विस्तारै पूरा हुँदै गएको विश्लेषकहरुको भनाई रहेको छ । यसको असर आगामी दिनमा पनि पर्न सक्नेछ । दिनभर बजारमा सवैभन्दा बढी बीमा समुहकै परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक २ सय १९ अंकले ओरालो लागेको छ ।

यसैगरी, जलविद्युत समुह १ सय ४ अंकले घटेको छ भने सेयर बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ३५ दशमलव २१ अंकले ओरालो लागेको छ । बजारमा दिनभर १ सय २८ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ३९ करोड १७ लाख रुपैयाँ बरावरको २४ लाख २५ हजार कित्ता सेयर कारोवार भएको छ ।

 

LIVE TV