२३ जेष्ठ २०७३, आईतवार

YARSA PATAN

डोल्पा, डोल्पामा बढ्दो खडेरीको प्रभाव हिमाली यार्सा पाटनतिर पनि देखिएको छ ।

खडेरीले नदीनाला मात्रै सुकेका छैनन् यिनका मुहानको रूपमा रहेका हिमालकै खोलानाला पनि सुक्न थालेका छन् । खडेरी बढ्दै गएपछि डोल्पाको भोक्पा, भाङ्का, सागबारी लगायतका यार्सागुम्बा पाटनमा रहेका खोला सुख्खा बन्न पुगेका छन् ।

खडेरीकै कारण माझफाल गाविसमा पर्ने रुपपानी, साइक्वारी, पोखेपानीलगायतका यार्सागुम्बा हुने ठाउँका खोला सुकेपछि खानेपानीको समस्या भएको स्थानीयवासी विनोद कठायतले बताउनुभयो ।
कठायतले भन्नुभयो – “पहिला यार्सापाटनमा जताततै पानी हुन्थ्यो । बेलुकीपख यार्सा सङ्कलन गरेर पालमा फर्कंदा खोलामा पानीको बहाव बढेर पार गर्न कठिन हुन्थ्यो । अहिले यी पाटनका खोलामा कमिलाले वारपार गर्छन् ।”

हिमालकै खोला सुक्न थालेपछि त्रिपुराकोट, सुपहाड लगायतका गाविसमा पर्ने गल्लीखोला, छलखोला, खोर खोला, भेरी खोला लगायतका नदी पनि सुकेका छन् । यी नदीमा पानी औसतभन्दा धेरै सुकेपछि खानेपानी तथा सिँचाइको समेत समस्या उत्पन्न भएको त्रिपुराकोटवासीले बताए ।

“अघिल्ला वर्षमा प्रशस्त पानी हुने यार्सा पाटनका खोला अहिले सुख्खा छन्, एक थोपा पानी छैन” – स्थानीयवासी अपिन्द्र रोकायले भन्नुुभयो । अहिले अधिकांश पाटनमा हिउँ पनि छैन । गत वर्ष सेताम्ये देखिएका हिमालमा अहिले काला पत्थर मात्र देखिने गरेको स्थानीयवासी आइतराम सार्कीले बताउनुभयो । पाटनमै हिउँ नभएकाले खोला पनि सुक्न थालेको उहाँले बताउनुभयो ।

स्थानीयवासी लोकमान श्रेष्ठले भन्नुभयो – “गतवर्ष ओसिला देखिने उचाइमा रहेका यार्सा पाटन यसपालि सुख्खा देखिन्छन् । यार्सागुम्बालाई अत्यधिक चिसो वातावरण चाहिने भएकाले समयमै हिँउ, पानी नपरी तापक्रम समेत वृद्धि हुँदै जान थालेपछि यसको अस्तित्व पनि लोप हुँदै जान थालेको छ ।”

नदीमा पानी सुक्दै गएपछि स्थानीय लघु जलविद्युत् आयोजनाको उत्पादन क्षमता पनि घट्दै गएको छ । पानी घट्ट समेत बन्द भएको त्रिपुराकोटका स्थानीयवासीले बताएका छन् । खोलाबाट आउने पानीको प्रयोग गरेर सिँचाइ गर्दैआएका त्रिपुराकोटका सर्वसाधारण पानीको अभावबाट चिन्तित बनेका छन् । रासस

 

LIVE TV