२३ जेष्ठ २०७३, आईतवार

संयुक्त राष्ट संघको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा  विश्व वातावरण मनाउने गरिन्छ ।  हाम्रा जीवजन्तु हाम्रो वतावरण र वन,  संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन भन्ने नाराका साथ आइतवार विश्व वातावरण दिवस २०७३ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक राष्ट्रले उत्सर्जन गरेको ग्याँसका कारण वातावरणीय प्रभाव देखिएको बताउँनुभयो । हिमालमुनि बसेर दाउराले चुल्हो बाल्ने जनताका कारण हिमालयको हिउँ नपग्लेको जिकिर गर्दै उहाँले औद्योगिक राष्ट्रले उत्सर्जन गरेको ग्यासले अम्ल वर्षा हुँदा हिमालयको हिउँ पग्लिएर विश्व वातावरणमा संकट देखा परेको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका राष्ट्रिय निर्देशक रिनाउड मयेरले नेपालको ८० प्रतिशत जनता प्रत्यक्ष रुपमा प्रकृतिमा आधारित जीवन बाँचिरहेकाले वातावरणीय प्रभाव नेपाली जनतालाई बढी संवेदनशील हुने गरेको बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले यस वर्ष वातावरण संरक्षणका क्षेत्रमा उदाहरणीय काम गरेका संस्थाहरुलाई सम्मान पत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत भएपछि स्याङजाको नगरपालिकाका प्रतिनिधिले आफूहरुलाई अझ जिम्मेवार भएर वातावरण संरक्षणमा लाग्न प्रेरित गरेको बताए ।

त्यसै गरी वातावरण संरक्षणमा सकृय काठमाडौको कलंकीका महिलाहरुको समूह पनि पुरस्कृत भएको थियो । पुरस्कृत महिला समूहका सदस्यहरुले पनि आफूहरु प्रकृतिका प्रतिमूर्ति भएकाले प्रकृतिसंरक्षणमा लागिरहने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV