२३ जेष्ठ २०७३, आईतवार

Deuba-Sherbahadur-

पोखरा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको कार्यान्वयनमा तयार नदेखिएको बताउनुभएको छ ।

सरकारले बजेट दुरुपयोग गर्न खोजेको बताउँदै उहाँले भन्नुभयो – “देशको ढुकुटीमा काँग्रेसले जम्मा गरेको हो, त्यसको दुरुपयोग गर्न दिनुहुँदैन ।” काँग्रेसमा एकता हुनु आवश्यक भएकामा उहाँको जोड थियो ।

आज यहाँ भएको कार्यकर्ता भेटघाटमा उहाँले संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रादेशिक र राष्ट्रियसभाको निर्वाचन आवश्यक रहेको र स्थानीय निकायको निर्वाचनका लागि स्थानीय स्वायत्त शासन पुनःगठन गर्न गठित आयोगको म्याद फागुनसम्म रहे पनि सरकारले त्यस अगावै मङ्सिरमा चुनाव गर्ने कुरा गरिरहेको बताउनुभयो ।

“आयोगको दिएको प्रतिवेदनका आधारमा चुनाव हुने हो,” उहाँले भन्नुभयो, “ आयोगको म्याद फागुनसम्म छ तर सरकार मङ्सिरमा चुनाव गराउने कुरा गरिरहेको छ, संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध छैन ।”

गाउँपालिका र नगरपालिकाको निर्वाचन नभै प्रदेश र राष्ट्रिय सभाको निर्वाचन चुनाव हुन नसक्ने पूर्वप्रधानमन्त्री देउवाले बताउनुभयो । “कि सरकारले आयोगको म्याद घटाएर कात्तिक बनाउन प¥यो,” नेता देउवाले भन्नुभयो, “चुनावका सम्बन्धमा हामी प्रतिवद्ध छाँ, प्रजातन्त्रवादी कहिल्यै चुनावको विपक्षमा हुँदैन ।”

सोही अवसरमा काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमति, सहकार्य र एकताको भावनालाई दृष्टिगत गरी काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारको बजेटले महँगी बाँडेको आरोप लगाउनुभयो । अर्का केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र जीवन परियारले नेपालमा राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने धारणा राख्नुभयो ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले १३ औंँ महाधिवेशनसँगै काँग्रेसमा गुट उपगुटको राजनीति समाप्त भएको र अबको नेपालको नेतृत्व गर्ने जिम्मेवारी पनि काँग्रेसको काँधमा आएको बताउनुभयो ।
काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले संविधानको कार्यान्वयन र विद्यमान समस्याको समाधानका लागि नेपाली जनताले काँग्रेसको नेतृत्व अपेक्षा गरेको धारणा राख्नुभयो ।

दयाशङ्कर पत्रकारिता पुरस्कार पौडेललाई 
प्रमुख प्रतिपक्षी दलका नेता देउवाले संविधान कार्यान्वयनमा काँग्रेसले अग्रणी भूमिका खेल्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित तथा प्रजातन्त्रका सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित ‘दयाशङ्कर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ रमेश पौडेललाई आज यहाँ प्रदान गर्दै उहाँले संविधान कार्यान्वयनपछि मात्रै सङ्घीय गणतान्त्रिक लोकतन्त्रको स्थायित्व हुने र देश आर्थिक समृद्धितर्पm उन्मुख हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले जनताले तिरेको कर र दातृ निकायले दिएको सहयोगका रुपमा आएको पैसा जथाभाबी नचाहिँदो काममा खर्च गरेर दुरुपयोग गर्न नहुनेमा जोड दिनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन लागू गर्न आपूmले प्रयास गर्ने आश्वासन पनि दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रजातन्त्रका सेनानी स्व पालिखे र प्रतिभा छनोट समितिका सदस्य पुण्य पौडेलले पुरस्कृत व्यक्तित्वको जीवनीमाथि प्रकाश पार्नुभएको थियो ।
प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशि रु ३३ हजार ३३३ र साथमा सम्मानपत्र छ । रासस निमदत्त र वासुदेव(तस्बिर छ )

 

LIVE TV