२३ जेष्ठ २०७३, आईतवार

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितका ६ हजार घर बनाउने जिम्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ तथा आईएनजीओ) लाई दिएको छ । यी एनजीओ र आईएनजीओले एउटा घर निर्माण गर्न औसतमा दुई लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म विनियोजन गरिएको छ ।

house

ती एनजीओ र आईएनजीओले १२ अर्ब २८ करोड १८ लाख ७७ हजार नौ सय ८१ रुपैयाँमा ६ हजार सात सय ५९ वटा निजी आवास, एक सय ३३ वटा विद्यालय र दुईवटा स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने जिम्मेवारी पाएका छन् । आफूसमक्ष पेस भएका २७ वटा संस्थाका परियोजना प्रस्तावलाई स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले असमानतापूर्वक राहत वितरण गरेको आरोप लगाउँदै एकद्वार प्रणालीबाट पुनर्निर्माण थाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको थियो ।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधिको दफा ९ को उपदफा ६ अनुसार प्रस्तावित परियोजना प्रस्ताव छनोटका लागि प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरेबमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा त्रिपक्षीय सम्झौता गर्न स्वीकृत गरिएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV