२२ जेष्ठ २०७३, शनिबार

यो साता नेपाली शेयर बजारमा १६ दशमलव ६३ प्रतिशतले गिरावाट आएको छ । साताभर २७ हजार ६ सय ३४ कारोबारबाट १ सय ४८ कम्पनीहरुको १ करोड ३ लाख ६६ हजार ९ सय ३० कित्ता शेयरहरु खरीद बिक्री भए । जसबाट ५ अर्ब ९५ करोड ५१ लाख २२ हजार रुपैँया बराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १६ दशमलव ६३ प्रतिशत कम हो ।

अघिल्लो साता १ सय ४७ कम्पनीको २८ हजार ८ सय ८० कारोबारबाट १ करोड ४६ लाख ७० कित्ता शेयर किनबेच भएको थियो । यसबाट ७ अर्ब १४ करोड ९४ लाख ९४ हजार बराबरको रकम कारोबार भएको थियो ।

यस साताको नेप्से परिसूचक ४ दशमलव १३ अङ्कले घटेको छ । आइतबार १ हजार ५ सय २२ दशमलव २५ विन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन विहीबार घटेर १ हजार ५ सय १८ दशमलव १२ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव १७ अङ्कले बढेर ३ सय २८ अङ्कमा आइपुगेको छ ।

पछिल्ला केही साता उच्च अङ्कले बढिरहेको नेप्से परिसूचक यस साता भने केही घटेको हो । सातामा बीमा समूहको परिसूचक उच्च अङ्कले घटेको छ भने जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा बृद्धि भएको छ । साताको सोमबार र मङ्गलबार भने सामान्य अङ्कले नेप्से परिसूचक बढेको थियो ।

यस साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ सय ५९ दशमलव ७८ अङ्कले बढेको छ । जलविद्युत समूहको परिसूचक १ सय ४९ दशमलव ५३ अङ्कले बढेकाछ । साताभरी यी समूहमा लगानीकर्ताको राम्रो आकर्षण रहेको पाइयो । पछिल्लो समयमा जलविद्युत कम्पनीहरुले हकप्रद शेयर जारी गर्ने खबरहरु लगातार आइरहेपछि यस समूहको आकर्षण बढेको हो । वीमा समूहको परिसूचक भने १ सय ४४ दशमलव ४६ अङ्कले घटेको छ ।

LIVE TV