२२ जेष्ठ २०७३, शनिबार

जिल्ला विकास समिति भोजपुरले नियमविपरित विना प्रक्रिया रिक्त दरबन्दीमा स्थायी कर्मचारी पदपुर्ति गरेको खुलासा भएको छ । जिविसले समायोजनको नाममा २ कर्मचारीलाई स्थायी नियुक्ति दिएको खुलासा भएको हो ।

स्थानीय स्वायक्त शासन नियमावली ०५६ को नियम २१७ को उपनियम ३ विपरित पद मिलान गर्न नपाइने व्यवस्था भएपनि नियमावली विपरित २४ औ जिल्ला परिषदको निर्णयलाई आधार मान्दै कर्मचारी नियुिक्त गरेको खुल्न आएको हो ।

च्याङ्ग्रे र तिवारीभञ्ज्याङ गाविसमा गरिवसंग विश्वेश्वर कार्यक्रम अन्र्तगत नियुक्ति भएका सामाजिक परिचालकहरु सुमित्रा रिजाल र देवीप्रसाद तिवारीलाई स्थानीय विकास कोषमा काज हुदै हाल जिल्ला विकास समितिको स्थायी रिक्त खरीदार दरवन्दीमा पद समायोजनको नाममा नियुक्ति गरिएको छ ।

जिविसका स्थानीय विकास अधिकारी भानुभक्त न्यौपाने र तत्कालीन योजना अधिकृत खगेन्द्र गिरीको मिलोमत्तोमा पदपुर्ति समिति र प्रशासन फाँटलाई थाहै नदिई नियुक्ति गरेको पाइएको छ ।

कर्मचारी नियुक्तिदेखि अवकाशसम्मको सम्पूर्ण जिम्मा पाएको प्रशासन शाखामा यसबारे औपचारिक जानकारी नआएको प्रशासन प्रमुख वुद्ध तामाङ्गले बताए ।

कर्मचारी तलबको जिम्मेवारी सम्हाल्दै आएको लेखा शाखाले समायोजन गरिएको भनिएको २ कर्मचारीले स्थानीय विकास कोष अन्तर्गत सामाजिक परिचालककै रुपमा सेवा सुविधा लिदै आएको लेखा प्रमुख प्रतित प्रधानले बताए ।

जिविसमा कार्यरत टाइप खरिदार मिट्ठु गुरुङ र रञ्जु श्रेष्ठको रिक्त स्थानमा पद समायोजनको नाममा नियुक्ति गरिएको थियो । मिट्ठु गुरुङ स्वास्थ्यको कारण ३ बर्षअघि राजीनामा दिएका थिए भने रञ्जु श्रेष्ठ दुई बर्ष अगाडि फाइल बढुवा भएकाले उक्त दरवन्दी रिक्त भएको थियो ।

जिल्ला विकास समितिका पदपुर्ति समितिका संयोजक श्यामप्रकाश तमोटले भने पदपूर्तिको सन्दर्भमा आफुलाई कुनै जानकारी नभएको र समितिले कुनै कर्मचारीलाई छनौट नगरेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV