२२ जेष्ठ २०७३, शनिबार

sansad-n

व्यवस्थापिका संसद बैठकले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसंगै प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म विद्यालय तह भएको छ ।

व्यवस्थापिका संसदले पारित गरेको विधेयकमा उल्लेख भए अनुसार लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले पनि आकर्षक सुविधासहित बिदा हुने विकल्प पाएका छन् ।

संसदको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिले एक साताअघि संसदमा पेश गरेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

संसदमा निर्णयार्थ पेस भएको उक्त विधेयक सर्वसम्मत रुपले पारित भएको हो । सत्तापक्ष र विपक्षी सबै सांसदले उक्त विधेयकमा समर्थन जनाएका हुन् ।

संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा आठौं संशोधन विधेयक २०७३ लाई पारित गरियोस भन्ने प्रस्ताव राख्नुभएको थियो । अब कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा हुने भएको छ ।

कक्षा १० को अन्तिममा हुदै आएको प्रवेशिका (एसएलसी) परीक्षाको पनि अन्त्य भएको छ । १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ । अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ ।

विधेयकमा अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश दिने या प्रतियोगितामा सहभागी हुन पाउने गरी दुवै विकल्प खुला राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV