२२ जेष्ठ २०७३, शनिबार

क्रिकेट खेलाडी सङ्घको अध्यक्षमा पूर्व कप्तान अग्रवाल 

काठमाडौँ, २२ जेठ । क्रिकेट खेलाडी सङ्घ नेपालको अध्यक्षमा पवनकुमार अग्रवाल चयन हुनुभएको ।

कीर्तिपुरस्थित सङ्घको कार्यालयमा आज सम्पन्न प्रथम वार्षिक साधारणसभामा राष्ट्रिय टोलीका पूर्व कप्तान अग्रवाललाई अध्यक्षमा सर्वसहमतिले चयन गरेको हो ।

अघिल्लो वर्ष स्थापना भएको संस्थाको पहिलो कार्यसमितिका सबै ११ पदाधिकारी दुईवर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा अर्का पूर्व कप्तान विनोदकुमार दास र सीता रानामगर, महासचिवमा वर्तमान कप्तान पारस खड्का चयन भएका छन् ।

त्यस्तै सचिवमा अनिलकुमार मण्डल, कोषध्यक्षमा पृथु बाँस्कोटा तथा सदस्यमा राजु बस्नेत, शक्तिप्रसाद गौचन, ज्ञानेन्द्र मल्ल, निरा राजोपाध्याय र विनोद भण्डारी छन् ।

खो–खोमा भारतीय टोली प्रथम 

नेपालका दुई टोली त्रिभुवन आर्मी क्लब र काठमाडौँको उन्नाइस वर्षमुनि (यु–१९)को टोली तथा भारतबाट आएको यु–१९ टोलीबीच खो–खो प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल खो–खो सङ्घको आयोजनामा आज यहाँ सम्पन्न प्रतियोगितामा भारतको टोली प्रथम, आर्मी द्वितीय र काठमाडौँको टोली तृतीय भएका छन् ।

दुईदिने प्रतियोगिताका विजेता टोलीलाई नेपाली सेनाका प्रमुख सेनानी रामकाजी रानामगरले पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा आर्मी क्लबका महिला खो–खो टोली र काठमाडौँको यु–१९ महिला खो–खो टोलीबीच पनि मैत्रीपूर्ण खेल सम्पन्न भयो ।

युयुएनटिएफमा पुनः नोर्बु लामा 

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ), नेपाल च्याप्टरको अध्यक्षमा नोर्बु लामा निर्विरोध चयन हुनुभएको छ ।

सातदोबाटोस्थित युयुएनटिएफको कार्यालयमा आज भएको पहिलो साधारणसभाले लामाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन ग¥यो ।

वरिष्ठ उपाध्यक्षमा फणीन्द्र खड्का तथा पाँच उपाध्यक्षमा विमला भण्डारी, हरिहर पाण्डे, मोहम्मद सकिल, अर्जुन केसी र नन्दु विष्ट छन् । त्यस्तै, रवीन जोशी महासचिव, अर्जुनभक्त राई सचिव तथा दिनेश श्रेष्ठ कोषाध्यक्षमा यथावत् रहे ।

विश्वराज राई, निरु मगर, रेखमाया गुरुङ, रोशन खान, कल्याण कुँवर, शरण महर्जन, मदनकुमार राई, मीनु कार्की, मदन थापा, रामचन्द्र व्यञ्जनकार तथा घनश्याम बुर्जा मगर सदस्यमा चयन भए ।

साधारणसभाको युयुएनटिएफका केन्द्रीय महासचिव लव गोर्खालीले आजै एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

उक्त अवसरमा महासचिव गोर्खालीले विदेशमा रहेर पनि आफूहरुले नेपाली तेक्वान्दोको विकासमा सक्दो गरिरहेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि नोर्बुकै अध्यक्षतामा २०७० माघ २३ गते युयुएनटिएफ, नेपाल च्याप्टरको गठन भएको थियो । रासस

LIVE TV