२२ जेष्ठ २०७३, शनिबार

काठमाडौँ, पूर्वपश्चिम राजमार्ग र भित्री सडकमा ट्रमा सेन्टर खोल्ने भनिए पनि तत्कालका लागि त्यो सम्भव छैन ।

तत्काल सबै स्थानमा छुट्टै रुपमा ट्रमा सेन्टर खोल्न दक्ष जनशक्ति र अर्थ अभाव छ ।

स्वास्थ्यमन्त्री रामजनम चौधरीले रासससँग कुरा गर्दै पूर्वपश्चिम राजमार्ग र भित्री राजमार्गमा पायक पर्ने अस्पतालमा नै अहिलेका लागि ट्रमाको उपचार हुने गरी व्यवस्था गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो—‘‘तत्काल छुट्टै अस्पताल खोल्न सम्भव नदेखिएकाले हामीले देशका विभिन्न भागमा सबैलाई पायक पर्ने अस्पतालमा नै उपचार हुने गरी व्यवस्था गर्ने छौँ ।’’

स्वास्थ्यमन्त्रीको विशेष चासो रहे पनि सरकारले प्रस्तुत गरेको बजेटमा अन्य स्थानमा ट्रमा सेन्टर खोल्ने कुरा कतै उल्लेख नभएपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो । यसअघि रासससँगको कुराकानीमा मन्त्री चौधरीले देशमा दुर्घटनाको क्रम बढ्दै गएको र समयमा उपचार नपाएर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले विभिन्न स्थानमा ट्रमा सेन्टर खोल्न गृहकार्य भइरहेको बताउनुभएको थियो ।

नेपालको एक मात्र ट्रमा सेन्टर उद्घाटन भएको १७ वर्षपछि निर्माण पूरा भई गत वर्षको गोरखा भूकम्पका समयमा सञ्चालनमा आएको थियो ।
नेपालमा दुर्घटनामा परेर मृत्यु हुनेमा पाँचदेखि ४४ वर्ष उमेरका मानिस बढी रहेको तथ्याङ्क छ । नेपालमा बढ्दै गएको सवारी दुर्घटना हेर्दा सन् २०२० सम्ममा मृत्युको तेस्रो कारण सवारी दुर्घटना बन्न सक्ने मन्त्रालयको अनुमान छ । अहिले नेपालमा सवारी दुर्घटना मृत्युको चौथो कारण बनेको बताइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक तीन जनाको मृत्यु तथा १२ जना गम्भीर घाइते हुने गरेका छन् । रासस

LIVE TV