२२ जेष्ठ २०७३, शनिबार

दमौली,  जेठ । गत वर्षको ‘गोरखा भूकम्प’बाट पूर्ण रुपमा क्षतिग्रस्त भएका तनहुँका ३०० विद्यालयको पुनर्निर्माण कार्य तीव्र पारिएको छ ।

भौतिक पूर्वाधार कार्यक्रमअन्र्तगत रु २९ करोडको लागतमा ती विद्यालयको पुनर्निर्माण गरिने जिल्ला शिक्षा कार्यालयका सवइन्जिनियर शम्भु पौडेलले जानकारी दिनुभयो । दुई र तीन कोठे भवन निर्माणको काम ७० प्रतिशत पूरा भइसकेको बताइएको छ ।

ती भवनको पुनर्निर्माणका लागि दोस्रो किस्ताबापतको रकम विद्यालयको खातामा पठाइसकिएको सो कार्यालयले जनाएको छ । भूकम्पले तनहुँका अधिकांश विद्यालय भवनका साथै कक्षा कोठामा समेत क्षति पुगेपछि ती विद्यालयले अस्थायी टहरामा पठनपाठन गर्दै आएका छन् ।

गत वर्ष भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गत रु पाँच करोड खर्च गरिएको थियो ।

यसैबीच, हावाहुरीले क्षति पु¥याएका तनहुँका २५ सामुदायिक विद्यालयको मर्मत सुरु गरिएको छ । हावाहुरीले क्षति पु¥याएका ती विद्यालयका क्षतिग्रस्त भवन र छानाको मर्मत सुरु गरिएको सवइन्जिनियर पौडेलले बताउनुभयो । हावाहुरीले क्षति पु¥याएका विद्यालय मर्मतका लागि रु १३ लाख उपलब्ध गराइएको अर्का सवइन्जिनियर सुजन भट्टराईले जानकारी दिनुभयो । रासस

LIVE TV