२२ जेष्ठ २०७३, शनिबार

पासाङ तेन्जिङ शेर्पा2पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका पासाङ तेन्जिङ शेर्पालाई दशौँ पटकको आरोहण यात्रामा कुनै नयाँ हिमाल चढेजस्तो अनुभूति भयो ।

कम्मरसम्म हिउँले पुरिएको बाटोमा पुराना कुनै डोरी र डोबहरु थिएनन् । यो नयाँ अनुभूति महसुुस हुनाको कारण हो, दुई वर्षअघिको हिमपहिरो जसले मेटाइदिएको थियो चुचुरो चुम्ने बाटो ।

 

 

दोलखा रोलवालिङका ३१ वर्षीय आरोही शेर्पाले १७ वर्षको अवधिमा दशौँ पटक सगरमाथाको सफल आरोहण मात्र गरेनन् उनले सगरमाथाको ढोका विश्वलाई खोलिदिए । उनी तिनै हिरो हुन् जसले प्राकृतिक विपत्तिले दुई वर्षसम्म आरोहण रोकिएको सगरमाथाको बाटो खोलेर आरोहण सफलता दिलाए । उनीसहित नौ शेर्पा गाइडको साहस र अथक मिहिनेतले यस वर्षको वसन्त ऋतुमा करिब ४५० स्वदेशी तथा विदेशी आरोही सगरमाथा चुचुरो चुम्न सफल भए ।

पहिले पनि रुट फिक्सिङ (बाटो निर्धारण गर्ने) गरी डोरी टाँगेको अनुभवले यस पटकको आरोहणले सफलता पाएको अनुभव आरोही शेर्पाले सुनाए । “अन्दाजले नै डोरी टाँगेँ । पुराना डोरी तथा रुट थिएनन् । यसकारण राम्रो भयो कि म पहिले पनि नौ पटक चढेको र डोरी टाँगेको अनुभव थियो, जसले गर्दा बाटोको अन्दाज भयो । नत्र यसपालि एकदमै गाह्रो हुने थियो । पुरानो अनुभवलाई प्रयोग गरेर हामीले बाटो बनायौँ,” भने ।

सगरमाथा चुचुरोमा पुग्नु अति गाह्रो थियो, अविष्मरणीय क्षण त छँदै थिए । तर पनि बहादुर शेर्पाले हिम्मत हारेनन् आखिर चुचुरो चुमेरै छाडे, अनि अरू आरोहीलाई पनि प्रेरित गरे । क्याम्प चार नजिक हिमपहिरो जान थाल्यो यसले पनि कुनै हतोत्साहित भएनन् ।

“समिट पुग्नुपर्ने बिहानको समय । रात पर्न लागिसक्यो अझै पनि साउथ–क्याम्प पोलमै छौँ”, आरोही शेर्पाले भने , “साथीहरुले भन्न थाले, हैन अब पुग्यो, माथि नजाऊँ, अझै खतरा छ, तर मैले भनेँ हैन दुई वर्षसम्म कसैले चढ्न पाएको छैन, हामीले बल गर्नैपर्छ यसपालि । हामी अघि बढ्दै जाँदा साउथ समिटको रुटबाट ठूलै पहिरो गया,े भाग्यवश हामीलाई केही भएन ।”

यसपाला यसरी पुगे सगरमाथा चुचुरोमा
शेर्पा गाइडले मे १० अर्थात् वैशाख २८ गते क्याम्प दुई बाट राती १ बजे उठेर साउथ पोल माथितिर (बालकोनी) भन्ने ठाउँमा गएर आठ हजार ५०० उचाइमा डोरी टाँगे । ‘साँँझ ५ बजेतिर त्यहाँबाट फर्केर सात हजार ५०० मिटर साउथ पोल–अन्तिम क्याम्प (चार) मा आएर सुतियो र भोलिपल्ट बिहान २ बजे उठेर बाँकी आरोहण सफल ग¥यौँ’, आरोही शेर्पाले अनुभव सुनाए ।
त्यही दिन अर्थात् वैशाख २९ गतेदेखि वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको थियो । आरोहणको १५ दिनमा करिब ४५० जनाले सगरमाथाको आरोहण गरेका थिए । “अहिले हामीलाई निकै गर्व लागेको छ, त्यति दुःख नगरेको भए यति धेरै आरोहीले चढ्न पाउँदैनथे । त्यो नचढ्नु भनेको हाम्रो देशकै लागि घाटा हो,” आरोही शेर्पाले भने ।

आरोही शेर्पाले नेपालमा मात्र नभई नर्वे, फ्रान्सलगायत देशमा माउन्टेन गाइडको काम गर्दै आएका थिए । हिमाल आरोहणका लामो इतिहास रहे पनि यस क्षेत्रमा लाग्ने आरोहीको सामाजिक सुरक्षार्थ कार्यक्रम नभएकोमा आरोही चिन्तित छन् । राम्रा आरोही जति सबै विदेसिएका छन्न्, उनीहरु परिवारको सुरक्षाका लागि तल्लीन छन् । “हामी आरोहीका लागि राज्यले सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ । नत्र भविष्यमा कुनै पनि आरोही पाउन गाह्रो हुन्छ”, उनको गुनासो पोखे ।

पहिलो पटक सगरमाथा आरोहण गर्न सफल ३० वर्षीय अमेरिकी नागरिक ईसाइया जानजोनले सगरमाथाको सफलता जीवनकै अविष्मरणीय क्षण भएको शर्पाले बताए । “सगरमाथा असाध्यै चिसो रहेछ, तर पनि चुचुरोमा पुग्दाको खुसी कल्पनै गर्न सकिन्न, सपनामा पनि नसकेको सफलता प्राप्त भयो, शेर्पा साथीहरुको साथ नभए यो सम्भव थिएन । यसले विश्वभर सन्देश फैलिएको छ,” उनले भने ।

सन् २०१४ मा सगरमाथाको आधार शिविर माथितिरबाट आएको हिमपहिरोमा परी १६ जना आरोहीको निधन भएको थियो । २०१५ मा आएको भूकम्पका कारण सगरमाथाको आधार शिविरमा हिमपहिरो आएर अरू १९ जना आरोहीको ज्यान गएको थियो । सन् २०१६ को वसन्त ऋतुमा हिमाल आरोहण सफलताले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलिएको छ ।

पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका थिए ।

LIVE TV