२२ जेष्ठ २०७३, शनिबार

करेन्ट लागेर युवकको मृत्यु

लहान,  जेठ । सिरहाको पोखरभिण्डा गाविसमा आज बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

पोखरभिण्डा–९ निवासी १९ वर्षीय सन्तोषकुमार यादवको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ ।

करेन्ट लागेर बेहोस भएका यादवलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लहान,  जेठ । मार्डर–सिरहा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका–१६ स्थित सडकमा गए राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहा नगरपालिका–३ निवासी ६५ वर्षीय शिवनारायण साह रहेको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ ।

राति ९ बजेतिर ना३८प ६०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते साहको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक सिरहा नगरपालिका–२ निवासी ३० वर्षीय सुरेन्द्र साह घाइते भएकाले उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाएको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ ।

बगेर एक युवकको मृत्यु

उर्लाबारी (मोरङ), जेठ । खोलाले बगाएर ल्याएको अवस्थामा मोरङको मधुमल्लास्थित बक्राहा खोलाको किनारमा आज बिहान एक युवक मृत अवस्थामा भेटिएका छन् ।

बिहान ८ बजे मधुमल्ला–४ स्थित बक्राहा खोलाको किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा पहिचान हुन नसकेका अन्दाजी २०÷२१ वर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदु खड्काले जानकारी दिनुभयो ।रासस

चट्याङ लागेर बालकको मृत्यु

बाबियाचौर (म्याग्दी), जेठ । म्याग्दीको देवीस्थानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

देवीस्थान–८ रुन्मामा शुक्रबार साँझ परेको चट्याङले लागेर स्थानीय १० वर्षीय दीपक फगामीको मृत्यु भएको हो ।

छिमेकी मनप्रसाद फगामीको घरमा खेल्न गएका दीपकको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयवासी ओमबहादुर पुनले जानकारी दिनुभयो । चट्याङ लागेर मनप्रसाद फगामीको घरमा पालेको एक वटा बाख्रा पनि मरेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV