२१ जेष्ठ २०७३, शुक्रबार

यो समय आँप पाक्ने होईन तर बजारमा भने छयापछयाप्ती आँपहरु बिक्री वितरण भइरहेको छ । नेपालमा प्रतिबन्धित कारवाईड प्रयोग गरेर पकाईएको आँप कैलालीको धनगढी, अत्तरिया, टीकापुर लगायतका बजारमा खुलेआम बिक्रीवितरण भैरहेको छ ।

हेर्दा पहेलो, लोभलाग्दो र आकर्षक देखिने भएपनि मानव स्वास्थ्यका लागि भने अहिलेको आँपको प्रयोग हानिकारक छ । कारवाइड प्रयोग गरिएको आँपबाट बिभिन्न छालाको रोग लगायत पेट दुख्ने, वान्ता हुने गर्दछ । अनुगमन र नियमन गर्ने निकाय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनको क्रममा विषादी प्रयोग गरेको नपाईएको बताएको छ । कार्यलयका प्रमुख उपेन्द्र रायले नियमित बजार अनुगन गर्दा कुनैपनि विषादी प्रयोग गरेको नपाईएको बताउनु भयो ।

तर क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालयको अगाडि नै आँप विक्री गरिरहेका एकजना ब्यापारीले विषादी प्रयोग नगरे अहिले आँप नपाक्ने भन्दै यहाँ पाईने सबै आँपमा विषादी प्रयोग गरिएको बताए ।

अनुगमनको क्रममा केहि फेला नपरेको बताए पनि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख उपेन्द्र रायले कारवाईड प्रयोग गरेर पकाईएको आँपको भेट्ना आसपास साह्रो हुन्छ र आँपको अन्य ठाउँ कमलो हुने गर्दछ । कारवाईड प्रयोग गरेर पकाइएको आँपको रंग, स्वाद र बास्ना पनि राम्रो नहुने बताउनु भयो ।

खाद्य ऐन २०२३ को दफा ५ उपदफा ३ मा कारवाईड प्रयोग गरेमा ७ महिनादेखि १ वर्षसम्म कैद र ५ देखि १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । अनुगमन गर्ने निकायको आडैका विषादी प्रयोग गरेर आँप विक्रीवितरण गरिरहेको भएपनि उसले कुनै वास्ता नगर्नुलाई आम उपभोक्ताले शंकाको रुपमा लिएका छन् ।

 

LIVE TV