२१ जेष्ठ २०७३, शुक्रबार

Deuba-Sherbahadur-

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा सुरक्षाकर्मीलाई दोषी बनाउन नहुने बताउनुभएको छ । दश वर्षे द्वन्द्व नेपालको आन्तरिक समस्या भएकाले सकेसम्म यो विषयलाई  मेलमिलापको वाटोवाट समाधान गरिनुपर्ने उहाँको भनाई छ ।

नेपाल मानव अधिकार संगठनले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री देउवाले सरकारको निर्णय अनुसार परिचालन भएका सुरक्षाकर्मीलाई द्वन्द्वकालका घटनामा दोषी देखाउन नमिल्ने वताउनुभएको हो ।

१० वर्षे द्धन्द्वका समयमा सेना,  प्रहरीलाई मानवअधिकारको तालिम दिएर परिचालन नगरिएकाले मानवअधिकार उल्लंघन गरेको अभियोगमा कारवाही गर्नुपर्ने मागले सुरक्षाकर्मीको मनोवल कमजोर हुने पूर्व प्रधानमन्त्री देउवाको भनाई छ ।

पूर्व प्रधानमन्त्री देउवाले नेपाली सेना, जनपद् प्रहरी र सशस्त्र प्रहरी कुनै एउटा पार्टी विशेषको नभएर राज्यका सुरक्षाकर्मी भएकाले संविधान अनुसार परिचालित सुरक्षाकर्मीलाई मानवअधिकार उल्लंघन गरेको अभियोगमा जेल हाल्नुपर्ने मानवअधिकारकर्मीहरुका अभिव्यक्ति आपत्तिजनक भएको आरोप लगाउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले द्वन्द्वकालका सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगको मातहत ल्याइनुपर्ने वताउनुभयो ।

कार्यक्रममा  सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ्गले द्वन्द्वकालीन घटनाका दोषीलाई आममाफी दिने कुरा आयोगलाई कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । आयोगको उद्देश्य मेलमिलापको वातावरण तयार पार्ने भएको तर त्यसको नाममा  पीडितहरुको सहमतिविना आममाफी दिने कुरा स्वीकार्य नहुने जिकीर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV