२१ जेष्ठ २०७३, शुक्रबार

विराटनगर, किसानहरुलाई व्यावसायिक खेतीतर्फ आकर्षण गर्न सरकारले कृषि विकास कार्यालय मार्फत मोरङमा रु ७२ लाख अनुदान वितरण गरेको छ ।

सो अन्तर्गत मौरीपालनमा संलग्न कृषकमध्येबाट मोरङमा चालु आर्थिक वर्षमा छनोट गरिएका २० किसानलाई रु ३६ लाख वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय, मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराउनुभएको छ ।

प्रत्येक किसानलाई २० वटा मौरी घार र उपकरण खरिदका लागि रु एक लाख ८० हजार अनुदान उपलब्ध गराइएको हो ।

यसका साथै, तरकारी खेतीतर्फ किसानलाई आकर्षण गर्न ६० किसानलाई जनही रु ६० हजारका दरले रु ३६ लाख अनुदानको रुपमा उपलब्ध गराइएको सो कार्यालयले जनाएको छ ।

छनोटमा परेका प्रत्येक किसानलाई पहिलो किस्तामा रु ३० हजार र अन्तिम अर्थात दोस्रो किस्तामा पनि रु ३० हजार उपलब्ध गराइएको हो ।

यस प्रकारको अनुदानबाट मौरी र तरकारी उत्पादनमा वृद्धि हुने आशा राखिएको कार्यालय प्रमुख उप्रेतीले बताउनुभयो । रासस

 

LIVE TV