

भूकम्पपीडितको पुनस्र्थापना र पुनर्निर्माण कार्यमा सहयोग जुटाउने नाममा सैनिक श्रीमती संघको सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएकी भारतीय कलाकार सोनाक्षी सिन्हा र मलाइका अरोराको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोसाकसहितका सेना खटाउने गल्ती नदोहोर्याउन रक्षा मन्त्रालयले सैनिक मुख्यालयको ध्यानाकर्षण गरेको हो।
रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयले जेठ १३ गते ४ बुँदे निर्देशन जारी गर्दै मन्त्रालयको निर्देशन कडाइकासथ लागू गर्न नेपाली सेनाको ध्यानाकर्षण गराएको हो।भारतीय कलाकार सिन्हाको स्वागतमा नेपाली सेनाका सहायक रथी विमानस्थलमा पोसाकसहित उपस्थित भएको समाचारसहितको फोटो सार्वजनिक भएको थियो।
त्यसको प्रतिक्रिया स्वरुप रक्षा मन्त्रालयले जारी गरेको निर्देशनमा यसरी खटिएका सैनिक अधिकृत र जवानमाथि आन्तरिक कारबाही प्रक्रिया अघि बढाउन सैनिक मुख्यालयलाई निर्देशनसमेत दिएको छ। सिन्हालाई स्वागत तथा विदाई गर्ने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ठ कक्षको प्रयोग भएको विषयलाई ध्यान दिँदै रक्षा मन्त्रालयले उक्त कक्षको प्रयोग सरकारद्वारा स्वीकृत मापदण्ड बमोजिम गर्न गराउन पनि निर्देशन दिएको छ।
त्यसैगरी, कुनै पनि विदेशी संघ–संस्था वा अतिथिहरू सहभागी भएर कार्यक्रम सञ्चालन गर्नुपर्ने भएमा नेपाली सेना वा त्यससँग सम्बन्धित उच्चपदस्थ पदाधिकारीहरूका श्रीमतीहरूको साझा संस्था श्रीमती संघले सम्बन्धित संस्था र मन्त्रालयको पूर्वस्वीकृति र सहमति अनुसारमात्रै गर्न गराउन पनि मन्त्रालयले सेनालाई निर्देशन दिएको छ।