२१ जेष्ठ २०७३, शुक्रबार

books-1024x740कालीकोट। समयमा पाठ्यपुस्तक नपाउने कर्णालीका लागि नौलो विषय पटक्कै होइन ।

तर अघिल्ला वर्षमा बाटो, ढुवानी गर्ने साधन लगायतका बहाना बनाएर समयमा नपुग्ने पाठ्यपुस्तक यो वर्ष अन्य कारण नपाएपछि जनक शिक्षाको लापरबाहीले गर्दा कालीकोटलगायत कर्णालीका सबै जिल्लामा पाठ्यपुुस्तकको अभाव भएको छ ।

जिल्लाका एक दर्जनभन्दा बढी विद्यालयमा पाठ्यपुस्तकको अभाव भएपछि पठनपाठनमा कठिनाइ आएको छ । जिल्लाका २९२ विद्यालयमध्ये २७५ विद्यालयमा ७५ प्रतिशत पुस्तक पुगे पनि १७ विद्यालयमा सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या आएको हो ।

जिल्ला शिक्षा अधिकारी बाबुराम कालाखेतीले समयमा पाठ्यपुस्तक पुग्न नसक्दा विद्यालयमा पढाइ हुन नसकेको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार पहिले प्रकाशनमा भएका पुस्तक सुगम जिल्लाका विद्यालयले लगिसकेको र जनक शिक्षाले ढिलाइ गरेका कारण समयमा पुस्तक पुग्न नसकेर बालबालिकाको पठनपाठनमा बाधा पुगेको हो ।

पाठ्यपुस्तक पटक्कै नपुगेका कालीकोटका सरस्वती मावि दाहा, चैटिरी प्रावि, खिन, शान्ति प्रावि मेहलमुडी, लालीगुराँस प्रावि सिप्खाना, स्वयम्भुनाथ निमावि स्युना, रमाल मस्टो प्रावि स्युना, जनप्राभात माबि पाँखा लगायतका १७ विद्यालय छन् । ती विद्यालयका झन्डै आठ हजार बालबालिका अध्ययन गर्नबाट वञ्चित भएको बताइएको छ ।

यस्तै, पाठ्यपुस्तक पुगेका भनिएका २७५ विद्यालयमा पनि सबै पुस्तक पुगेका छैनन् । गत वर्ष झैँ यो वर्ष पनि कर्णाली अञ्चलका जिल्लामा पाठ्यपुस्तकको अभाव यथावत् रहेको शिक्षकले बताएका छन् । जिल्लाका अन्य पाठ्यपुस्तक पुगेका भनिएका विद्यालयमा पनि पूरै सेट किताब पुगेका छैनन् ।

जिल्लामा हाम्रो स्टेसनरी, विनोद बुक सेन्टर र नागरिक स्टेसनरीले पुस्तक खरिद तथा वितरणको जिम्मा लिएका छन् ।

LIVE TV