२० जेष्ठ २०७३, बिहीबार

वीरगञ्जका उद्योगपति सुरेश केडियाको अपहरण काण्डमा कवहीगोठ प्रहरी चौकीका प्रहरी हवल्दार सहित चार जना निलम्बनमा परेका छन् ।

प्रहरी चौकिका प्रहरी हवल्दार तेजबहादुर ढकाल, प्रहरी जवानद्वय प्रमोदकुमार यादव, बुनिल महतो र सुरेन्द्रप्रसाद साहलाई निलम्बन गरिएको हो ।

अपहरणकारीहरुले केडियालाई अपहरण गरेर लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको गाडीलाई कवहीगोठ प्रहरीले हातको ईशाराले मात्र रोक्न खोज्दा सजिलैसंग उम्कन सफल भएकोले अनुसन्धानको लागि निलम्बन गरिएको मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाका डिआईजीले बताउँनुभयो ।

सुरक्षाको लागि दिएको हतियारको प्रयोग नगरी अपहरणकारी सजिलैसंग सिमापारी गएकोले प्रहरी हवल्दार सहित जवानलाई निलम्बन गरिएको र कवहीगोठका ईन्चार्ज प्रहरी नायब निरीक्षक राजेन्द्र चौधरीलाई पनि निलम्बनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाईएको डिआईजी उपाध्यायले बताउँनुभयो ।

प्रहरी नायब निरीक्षक चौधरीको बारेमा मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाले पत्र पठाएको र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल जानुभएकोले आउने बितिकै कारवाहीको प्रक्रिया अगाडि बढाईने प्रहरी प्रधान कार्यालयका प्रहरी उपरिक्षक उतम सुवेदीले बताउँनुभयो ।

तेलकुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आनन्द राय, कवहीगोठका प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र चौधरी सहित १० जना प्रहरी अनुसन्धानको दायरामा परेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा फिर्ता बोलाई बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता बिनोद शर्माको नेतृत्वमा सात सदसिय टोलीले छानबिन गरेको हो ।

शर्मा नेतृत्वको टोलीले छानबिन गर्दै मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडालाई बिहीबार प्रतिवेदन बुझाएपछि मध्य क्षेत्रले प्रहरी हवल्दार सहित चार जनालाई निलम्बन गरेको हो ।

सशस्त्र प्रहरीका कार्य विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक कृष्णकुमार तामाङ र नेपाल प्रहरीका कार्य विभागका प्रमुख अतिरीक्त महानिरीक्षक केदार साउदको टोलीले बुझाएको प्रतिवेदनको आधारमा यसअघि तेलकुवा सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने, कवहीगोठ बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रशमशेर कुंवर सहित प्रहरी हवल्दार र प्रहरी जवानलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV