२० जेष्ठ २०७३, बिहीबार

बेनी नगरपालिका–३ रोटेपानीका सोवित सापकोटाले तीनबर्ष अगाडि गाउँकै सामुदायिक बनसंग सहकार्य गरेर बाख्रापालन सुरू गरे । सल्यानधारा सामुदायिक बनसंग बार्षिक रकम भुक्तानी गर्ने गरी छुट्टाइएको क्षेत्रलाई चरनक्षेत्र बनाउने गरी उनले एकैपटक ३६ वटा बाख्रा खरिद गरेर खोरको ब्यवस्थापन गरे ।

गाउँमै ब्यवसायिक बाख्रापालन सुरू गरेपछि उनी धेरैको प्रेरणाको स्रोत बन्नुको साथै प्रशस्तै बधाई समेत आउँन थालेका छन् ।

शुरुमा उनले बाख्रापालन शुरु गरेपछि बाख्रापालनले बन मासियो, बोट विरुवा नष्ट भए जस्ता आरोप उनीमाथि लागेका थिए । त्यसैले सापकोटाले केही महिनामै सबै बाख्रा बेचे । तर फेरि घाँस सहित आवश्यक पुर्वाधार जुटाएर उनले ०७२ साल भदौ महिनाबाट बाख्रापालन पुनः सुरू गरे ।

ब्यवस्थित खोर, तारबार,उन्नतजातका घाँस सहित  १४ वटा बाख्रालाई ८२ हजारमा खरिद  गरेर बाख्रापालन सुरू गरेका सापकोटा अहिले जिल्लामा नमूना बाख्रापालक कृषकमध्येमा पर्छन् । सापकोटा नमुना कृषि फर्म दर्ता  गरेर २६ रोपनीमा घाँस सहित बाख्रा फर्म विस्तार गरेका  उनले करिव ८  लाखको लगानी गरेका छन् ।

उनले बाख्रापालन सुरू गरेपछि त्यसैको सिको गर्दै विदेशबाट फर्किएका युवाहरुले समेत आफ्नै गाउँमा बसेर बाख्रापालन गर्न थालेका छन् । ब्यवसायिक बाख्रापालन गर्न आवश्यकता अनुसारको चरनक्षेत्र, घाँस सहित प्राविधिक ज्ञानको समेत आवश्यकता रहेको उनले बताए ।

भारत र मलेसियामा करिव आधा दशक विताएका सापकोटाले कृषि र पशुपालनमा  ब्यक्तिगत प्रयास र राज्यका निकायको समेत साथ भएमा हरेक कृषक सक्षम र आर्थिक रुपमा आत्मनिर्भर हुने बताउँछन् ।

हाल एकदुईवटा बाख्रापालन गरिरहेका गाउँका अन्य कृषकहरुलाई समेत आवश्यक प्राविधिक सहयोग र ज्ञान बाँड्दै आएका सापकोटा जिल्लाकै सफल कृषक बन्ने लक्ष्यमा छन्

 

LIVE TV