
जुम्ला। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी सङ्गठन जुम्ला विजयी भएको छ ।
सङ्गठनले एक मत बढी ल्याएर विजयी भएको हो । मतगणनामा निजामती कर्मचारी सङ्गठनले १५३ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले १५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत नवीनकुमार भट्टले जानकारी दिनुभयो ।
नेपाल निजामती कर्मचारी (युनियन) सङ्घले ८५ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनु परेको निर्वाचन अधिकृत भट्टले बताउनुभयो । बुधवार बेलुका ६ बजेदेखि सुरु भएको दुई घन्टाको मत गणनाको परिणामले मात्र एक मतको अन्तर देखिएपछि कर्मचारी सङ्गठन निजामतीले पुनः मतगणनाको माग राखेको थियो । राति ८ बजेदेखि सुरु भएको मतगणनाले एक घन्टापछि साबिककै परिणाम देखाएपछि अन्ततः नेपाल निजामती कर्मचारी सङ्गठन एक मतले अघि भएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको थियो ।
त्यसैगरी, निर्वाचनमा सहभागी सङ्गठनमध्ये राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्रिय कर्मचारी सङ्गठनले एक÷एक मत ल्याएको सहायक निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सहायक निर्वाचन अधिकृत सुवेदीका अनुसार नेपाल मधेसी निजामती कर्मचारी मञ्चमा शून्य मतदान भएको छ । यो निर्वाचनमा २५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला तहमा अध्यक्ष लगायतका अन्य पदाधिकारीको चयन गर्नका लागि एक हप्ताभित्र सबै सङ्गठनबाट उम्मेदवारको नामावली पठाउन परिपत्र गरेर अङ्कका आधारमा प्रमुख पद र सदस्य छानिने बताइएको छ ।