
युरोकप फुटबल २०१६ को तयारीमा रहेको स्पेनले मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि फराकिलो जित दर्ता गरेको छ। गएराति भएको मैत्रीपूर्ण खेलमा स्पेनले दक्षिण कोरियालाई ६–१ गोलको फराकिलो अन्तरले हराएको हो।

स्पेनले खेलको ३० औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता दिएको थियो। ३२ औँ मिनेटमा सेस फाब्रिगासले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।यस्तै खेलको ३८ औँ मिनेटमा नालिटोले गोल गर्दै पहिलो हाफमा स्पेनलाई ३–० को अग्रता दिलाए।
खेलको ५० औँ मिनेटमा मोरोटाले गोल गरे भने ५४ औँ मिनेटमा नालिटोले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए। खेलको ८३ औँ मिनेटमा दक्षिण कोरियाका सि जोङले सान्तोना गोल फर्काए। त्यसको ६ मिनेटपछि खेलको ८९ औँ मिनेटमा मोरोटाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौं गोल गरेपछि स्पेन ६–१ ले विजयी भयो।