२० जेष्ठ २०७३, बिहीबार

Upper-Madi-Hydro-144x76नेपाल विद्युत् प्राधिकरणले प्रस्तावित ३ सय मेगावाट जडित क्षमताको दूधकोसीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम सुरु गरेको छ । प्राधिकरणले ईएलसी इलेक्ट्रोकन्सल्ट इटाली र न्यूजेक इंक जापान संयुक्तलाई आयोजना सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ डिजाइन, वातावरणीय र सामाजिक प्रभावको अध्ययन गरी निर्माणका लागि बोलपत्र कागजात तयार पार्ने जिम्मेवारी दिएको छ ।

आयोजनाको डीपीआर तयारीका लागि विद्युत् प्राधिकरण र ईएलसीबीच परामर्श करार सम्झौता भएको छ । डीपीआरको काम सक्न प्राधिकरणले ईएलसीलाई मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक ७३ करोड रुपैयाँ भुक्तानी गर्ने सहमति भएको छ ।

प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनले आयोजना बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ईएलसीले आगामी साढे २ वर्षभित्र दूधकोसीको डीपीआर तयार पार्ने आयोजना प्रमुख मोहनप्रसाद गौतमले बताए । डीपीआरका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोग रहेको उनले बताए ।

गौतमका अनुसार एडीबीले डीपीआरका लागि ३५ करोड रुपैयाँ अनुदान दिएको छ । देशलाई लोडसेडिङ मुक्त बनाउन प्राधिकरणले दूधकोसीको डीपीआर तयारी थालेको हो । डीपीआर तयारीपछि आयोजना आर्थिक एवम प्राविधिक रुपमा सम्भाव्य देखिए निर्माणका लागि लगानी जुटाउने काम सुरु हुनेछ । आयोजनाको वास्तविक क्षमता डीपीआर पछि मात्र आउने छ । आजको कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV