
सुनसरी आसपासका क्षेत्रमा साईक्लिङ टुरिजमको विकासका लागि सक्रिय भएर लागेका युवाहरुले थप नयाँ गन्तव्य पत्ता लगाउँदै यस क्षेत्र तर्फ आन्तरिक पर्यटकलाई आकर्षित गर्न थालेका छन् ।
सुनसरीका विभिन्न स्थानका युवाहरु साइकल पर्यटनको प्रचार र विकासमा जोडतोडका साथ लागेका हुन् ।
साइकलमा मेची माहाकाली यात्रा गरिसकेका इटहरीका कमल श्रेष्ठले पूर्वी नेपाल साईक्लिङका लागि उपयुक्त स्थान भएको बताए । उनले स्वास्थ्यको लागि साईक्लिङ लाभदायक समेत भएको हुनाले सबैले यसलाई अपनाउनु पर्ने बताए ।
त्यस्तै अर्का साइक्लिस्ट युवराज कार्कीले मानिसको भागदौडपुर्ण जीवनमा स्वास्थ्य प्रति ध्यान नगएको हुँदा यसको प्रयोग आवश्यक रहेको औँल्याए । उनले साइकलको माध्यमबाट स्वास्थ्यको सुधार सँगै पर्यटन विकासमा समेत टेवा पु¥याउने हुँदा आफ्नो टिमले थप नयाँ स्थान पहिचान गर्न लागेको बताए ।
सुनसरीको कोशी टप्पु बन्य जन्तु आरक्षण आशपास, चारकोशे झाडी, तालतलैया, हसिना सिमसार क्षेत्र, भवानीपुर जँगल, गोकुल रिसोर्ट, मोरङको चारकोशे झाडी र वेतना सिमसार क्षेत्र, भेडेटार राजारानी लगायतका पर्यटकीय स्थललाई साइक्लिङ टुरिजमको उपयुक्त गन्तव्य स्थलको रुपमा लिइएको छ ।
धरानका कृष्ण केसीले नेपालका विभिन्न क्षेत्रका पर्यटकलाई पुर्व भित्र्याइ साइक्लिङ टुरिजमको विषयमा सम्भावना प्रस्तुत गर्न सके धेरै फाइदा लिन सकिने बताए । उनले धरानकै बुढासुब्बा, दन्तकाली, पिडेश्वर, विष्णुपादुकाको धार्मिक क्षेत्र, गोरखा स्मृति पार्क, सुनसरीको बराहक्षेत्र लगायत साइकल पर्यटक लोभिने स्थान रहेको बताए ।
उनिहरुले सुदुरपुर्वको लागि साईकल रुट समेत पहिचान गरिसकेका छन् । धनकुटाको भेडेटारबाट राजारानी, वुधवारे, राँके बजारबाट इलाम बजार हुँदै माइपोखरी र सन्दकपुर सम्मको यात्राको प्याकेजका लागि ५ दिन लाग्ने रुट तय भइसकेको छ ।
यो रुट हुँदै यात्रा गरे पुर्वका अधिकाश सुन्दर स्थलको अवलोकन गर्न सकिन्छ भने पूर्वी नेपाल र भारतका अधिकाँश हिमालय पर्वतको अवलोकन गर्न सकिने छ ।