१९ जेष्ठ २०७३, बुधबार

मलेसिया सरकारले अवैधानिक कामदारमाथिको धरपकडलाई तीब्र बनाएको छ ।

सोमबार राजधानी क्वालालम्पुरबाट १६ जना नेपाली कामदार पक्राउ परेका छन् ।

मलेसियाको अध्यागमनले सो क्षेत्रमा गैरकानुनी हैसियतका आप्रवासी कामदारविरुद्ध पक्राउ अपरेशन नै चलाएको अध्यागमन विभागले जनाएको छ ।

पक्राउ परेका नेपालीबारेमा मलेसिया सरकारले थप खुलाएको छैन । नेपालीसहित भारतीय, बंगलादेशी, पाकिस्तानी, भियतनामी, इन्डोनेसियन, फिलिपीनी र म्यानमारका गैरकानुनी हैसियतका कामदारलाई अध्यागमनले पक्राउ गरेको छ ।

मलेसियामा रोजगारीमा आएका नेपालीमध्ये राम्रो काम र सुविधा नपाउनेहरु अवैधानिक बन्ने गरेका छन् । म्यानपावरले भने जस्तो काम र दाम नपाएपछि अवैधानिक भएर काम गर्दै आएको अबैधानिक नेपाली युवाहरुको भनाइ छ ।

मलेसियाका जेलमा रहेका नेपालीलाई यहाँस्थित नेपाली दूतावासले विभिन्न संस्थाको सहयोगमा हवाई टिकट उपलव्ध गराउँदै आएको छ । हालसम्म नेपाली दूतावासबाट हवाई टिकट पाएर पाँच सय २९ जना नेपाली नेपाल फर्र्किएका छन् ।

यहाँको सरकारले गैरकानुनी हैसियतका अप्रवासीलाई घर फर्किने अवसरसमेत दिएको छ । गैरकानुनी हैसियतका आप्रवासीलाई शून्यमा झार्ने नीतिअन्तरगत मलेसिया सरकारले धरपकडलाई समेत निरन्तरता दिएको छ ।

LIVE TV