
काठमाडौँ, पशुपति क्षेत्रमा रहेका प्राचीन बस्ती नहटाउन स्थानीयवासीले माग गरेका छन् ।
पशुपतिनाथ सेवक सङ्घको संयोजनमा नेवाःपत्रकार राष्ट्रिय दबुले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीयवासीले ‘पशुपति क्षेत्रको अवधारणात्मक गुरुयोजनाको रुपरेखा २०५३’ मा उल्लेख नगरिएकाले ऐतिहासिक महत्व बोकेको प्राचीन बस्ती नहटाउन माग गरेका हुन् ।
पशुपतिको नित्यपूजामा प्राचीन बस्तीका नौ थरी नेवार समुदायको संलग्नता हुने भएकाले प्राचीन गोल देवपत्तनवासीसँग छलफल गरेरमात्र यस क्षेत्रको गुरुयोजना बनाउन माग गरिएको छ ।
भण्डारी समाजका अध्यक्ष केदार भण्डारीले विसं २०५३ को गुरुयोजनामा प्राचीन बस्ती हटाउने उल्लेख नभए पनि भकुन्टोलका ११९ घरलाई यसअघि हटाइसकिएकाले अब यस किसिमका गल्ती नदोहो¥याउन अनुरोध गरिएको बताउनुभयो ।
दबुका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले सम्पदा संरक्षण र सडक चौडा बनाउने नाममा उपत्यकाका प्राचीन बस्ती हटाउन नहुनेमा जोड दिनुभयो । स्थानीयवासी योगानन्द वैद्यले बनारसमा विश्वनाथको दर्शन गर्न साँघुरो गल्लीबाट जानुपर्ने सुनाउँदै नेपालमै मात्र सम्पदा संरक्षणका नाममा प्राचीन बस्ती हटाउन नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा दबुका काठमाडौँ अध्यक्ष नातिकाजी महर्जन, आदिवासी जनजाति वकिल समूहका सचिव शङ्कर लिम्बू, स्थानीयवासी सुवर्ण वैद्य, मृत्युञ्जय कर्माचार्य र मुकुन्द वैद्यले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि सङ्ख्या १६९ तथा आदिवासी जनजातिसम्बन्धी महासन्धि १९८९ ले दिएको अधिकारबमोजिम प्राचीन बस्ती हटाउनु नहुनेमा जोड दिनुभयो । रासस