
दमासकस, सिरियामा इस्लामिक स्टेट (आइएस) समूहले नियन्त्रणमा लिएको म्यानबेज सहरमा भएको अमेरिकी हवाई आक्रमणमा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।
सिरियामा अनुगमन गरिरहेको मानवअधिकारवादी समूहले बुधबार सो जानकारी दिएको छ ।
सिरियाको उत्तरमा पर्ने अलेप्पो सहरको म्यानबेज सहरमा गत २४ घण्टायता भएको सो हवाई आक्रमणमा दुई परिवारका १५ जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।
आतङ्ककारीलाई लक्षितगरी गरिएको यस हवाई आक्रमणमा तीन बालबालिकासहित १५ सर्वसाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
बेलायतसँग आवद्ध मानवअधिकार समूहले अमेरिकाको समर्थन रहेको यस एसडीएफले गरेको हवाई आक्रमणमा गत केहीघण्टा यता १६ गाउँलेको मृत्यु भएको जनाएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै जनआन्दोलन सुरु भएको थियो । यो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।
पाँच वर्ष लामो यस आन्दोलनमा हालसम्म २ लाख ८० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यसैगरी लाखौँ व्यक्तिले आफ्नो घर छोडी छिमेकी देशमा शरणार्थी जीवन बिताउनु परेको छ । रासस÷सिन्ह्वा