१८ जेष्ठ २०७३, मंगलवार

सरकारले सुर्तीजन्य पदार्थमा लगाइदै आएको करेमा हरेक वर्ष वृद्धि गर्ने गरेको छ । यसरी सुर्तीजन्य पदार्थको बिक्रीबाट उठेको कर सुर्तीजन्य पदार्थको सेवनबाट पीडित भएकाहरूको उपचारमा खर्च गर्ने गरेको छ । तर, सुर्तीजन्य पदार्थ सेवन निरुत्साहित गर्नेतर्फ नियम बनाए पनि प्रभावकारी कार्यन्वयन भने हुन सकेको छैन ।

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न हरेक बर्ष सुर्तीजन्य पदार्थको करबाट उठेको रकमबाट ४० करोड रुपैया स्वास्थ्य मन्त्रालयमा जम्मा हुने गरेको छ । उक्त ४० करोड रुपैयाँको ७५ प्रतिशत रकम क्यान्सर,क्षयरोग जस्ता सुर्तीजन्य पदार्थको सेवनबाट रोग लागेकाहरुको उपचारको लागि अस्पतालहरुलाई पठाउने गरेको स्वास्थ्य मन्त्री रामजनम चौधरीको भनाइ छ ।

गत आर्थिक वर्षमा सुर्तीजन्य पदार्थको बिक्रीबाट आन्तरिक राजस्व विभागले सात अर्ब बढी रकम उठाएको थियो । जसमध्ये ४० करोड रुपैयाँ स्वास्थ्य कर कोषमा छुट्याएको छ । नियमअनुसार कुल करमध्ये झन्डै ७५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा छुट्याउनुपर्ने हुन्छ, तर अहिले २–३ प्रतिशत मात्र यस कोषका लागि छुट्याइएको छ ।

सो रकम सुर्तीजन्य पदार्थ सेवनले बिरामी भएका नागरिकको उपचार, सेवन नगरौँ भन्ने जनचेतना तथा सुर्तीजन्य पदार्थको गतिविधि नियन्त्रण गर्न खर्च गर्ने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, छुट्याएको रकम साँच्चिकै पीडितसम्म नपुगेको सरोकारवालाहरूले बताउँदै आएका छन् ।  स्वास्थ्य मन्त्रालयअनुसार ४० करोड रकममध्ये भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,सहिद गंगालाल हृदयरोग केन्द्र, वीर अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर,कान्ति बाल अस्पताललाई विनियोजन गर्दै आएको छ ।

त्यसरी विनियोजन गरिएको रकम सम्बन्धित अस्पतालले बिरामीको उपचार तथा जनचेतना अभिवृद्धिमा खर्च गर्ने जनाएको छ । तर आम नागरिक भने इसबारे अनबिज्ञ  छन् ।

सुर्तीजन्य पथार्थको सेवनले प्रत्येक बर्ष ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । त्यसमध्ये करीब ६ लाख मानिसहरु धुम्रपानको धुवाँको असरले विभिन्न रोगको सिकार भई मृत्यु हुने गरेको छ ।

नेपालमा पनि धुम्रपान र अरुले गरेको धुम्रपानको धुवाँका कारण मृत्युवरण गर्नेहरुको संख्या ठूलै छ । त्यसैले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि वर्षेनी अन्तशुल्क र करमा मात्र वृद्धि नगरि रोगीहरुको उपचार र जनचेतनाका लागि प्रभावकारी कदम चाल्न कन्ज्युस्याइँ गर्न हुँदैन ।

 

LIVE TV