१८ जेष्ठ २०७३, मंगलवार

अफ्रिकी मुलुक चाडका पूर्व राष्ट्रपति हिसेन हाब्रे मानवता विरुद्धको अपराधमा दोषी पाइएका छन् । पूर्व राष्ट्रपति हाब्रे बलात्कार, यौन शोषण तथा हजारौं मानिसको हत्या आरोपमा दोषी पाइएको न्यायाधीशले बताएका छन् ।

सेनेगलको राजधानी डकारमा रहेको अफ्रिकी संघ समर्थित एक अदालतले पूर्व राष्ट्रपति हाब्रेलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो । हाब्रे सन् १९८२ देखि १९९० सम्म चाडको राष्ट्रपति थिए ।

हाब्रेले आफ्नो ८ वर्षे शासनकालमा ४० हजार मानिसको हत्या गराएको अरोप छ । न्यायाधीशले हाब्रे विरुद्ध जन्मकैदको फैसला सुनाएपछि अदालतमा उपस्थित मानिसले खुसीयाली मनाएका थिए ।

यो फैसलाले विश्वभर तानाशाहको अवस्था यस्तै हुन्छ भन्ने सन्देश गएको पीडितको पक्षबाट वकालत गरेकी वकिल ज्याकलिन माउदेनियाले बताएकी छिन् । हाब्रेको शासनकालमा मारिएका व्यक्तिका परिवारले अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।

हाब्रेले भने मुद्दाको सुनवाई अवधिभर अदालतको वैधतामा प्रश्न गर्दै आफूमाथि लागेका सबै आरोप झुठ्ठो भएका बताउँदै आएका थिए ।

हाब्रेले आफ्नो शासनकालमा अमेरिकाको समर्थन पाएका थिए । हाब्रेलाई अदालतको फैसला विरुद्ध अपिल गर्न १५ दिनको समय दिइएको छ ।

 

LIVE TV