
उत्तर कोरियाले गरेको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएको छ । उत्तर कोरियाले देशको पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल परीक्षणको प्रयास गरेको तर सफल नभएको दक्षिण कोरियाले जनाएको छ ।
उत्तर कोरियाले नेपाली समय अनुसार मंगलबार बिहान दुई बजेर ३५ मिनेटमा गरेको मिसाइल परीक्षणको असफल प्रयास गरेको समाचार संस्था रोयटर्सले जनाएको हो ।
उत्तर कोरियाले कस्तो खालको मिसाइल परीक्षण गरेको हो भन्ने बारे केही खुलेको छैन । तर दक्षिण कोरियाको सरकारी समाचार संस्थाले भने उत्तर कोरियाले मध्यम दूरीको मिसाइल परीक्षणको असफल प्रयास गरेको जनाएको छ ।
गएको अप्रिलमा पनि उत्तर कोरियाले तीन वटा मध्यम दूरीका मिसाइल परीक्षणको असफल प्रयास गरेको थियो । जापानले सोमबार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षणको तयारी गरेको भन्दै आफ्नो सेनालाई त्यसलाई ध्वस्त पार्न तयारी अवस्थामा राखेको थियो ।
उत्तर कोरियाले गएको जनवरीमा चौथो परमाणु परीक्षण गरेपछि कोरिया प्रायद्धिपमा तनाव थप बढेको छ । त्यसपछि उत्तर कोरियाले स्याटेलाइट तथा विभिन्न समयमा मिसाइल परीक्षण गर्दै आएको छ ।
अमेरिका, जापान, दक्षिण कोरियासहितका देशले उत्तरको पछिल्लो कदमको विरोध गर्दै आएका छन् । उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा भएको छ । तर उत्तर कोरियाले भने मिसाइल परीक्षण गर्ने क्रम रोकेको छैन ।