१८ जेष्ठ २०७३, मंगलवार

बाराबाट हालै अपहरणमा परेका व्यापारी सुरज केडियाको अपहरण भएको विषयबारे गृहमन्त्री शक्ति बस्नेतले सदनलाई जानकारी गराउनुभएको छ ।

विहार राज्य र नेपाल प्रहरीको संयुक्त प्रयासमा भारतको मोतियारीबाट केडियाको सकुशल उद्दार भएको जानकारी उहाँले संसदलाई गराउनुभयो ।

गृहमन्त्री बस्नेतले अपहरणबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो । नेपाल तर्फ ३ र भारतीय तर्फ १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

यसैबीच देशका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट हुन गएको धनजनको क्षतिको विवरण मन्त्री बस्नेतले सदनमा पेश गर्नुभयो ।

देशका विभिन्न भागमा भएको अतिबृष्टी, खण्डबृष्टी र लामो खडेरीका कारण जनजीवन प्रभावित भएर कतिपय ठाउँमा आगलागी, बाढी पहिरो र चट्याङका कारण भएको क्षति अनुसार मंसिरदेखि अहिलेसम्म आगलागिबाट ७६ जनाको निधन र १५ जना घाइते भएको गृहमन्त्री बस्नेतले बताउनुभयो ।

सरकारले आवश्यक राहत र उद्दारका लागि स्थानीय सुरक्षाकर्मी परिचालन गरी मृतक परिवारलाई ४० हजार उपलब्ध गराइएको गृहमन्त्री बस्नेतको भनाई छ । मन्त्रिपरिषदको निर्णय अनुसार ७२ मंसिर यता आगलागि घरपरिवारका लागि आवासका लागि राहतको व्यवस्था गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV