१७ जेष्ठ २०७३, सोमबार

राष्ट्रिय गौरवको आयोजना मध्ये एक मध्य पहाडी लोकमार्गको बागलुङ खण्डमा काम तीब्र पारीएको छ । बागलुङको उपल्लाचौर देखि बुर्तिबाङ सम्मको ९० किलोमिटर सडक खण्डमा सडकको स्तरबृद्धि गर्ने,चक्ल्याउने ग्राभेल हाल्ने,कल्र्भट बनाउने कामले तीब्रता पाएको छ ।

गल्कोट देखि बुर्तीवाङसम्मको ४३ किलोमीटरको कालेपत्रेका तयारी भैरहेको डिभीजन इन्जिनीयर बद्रि शर्माले जानकारी दिनुभयो । १ हजार ७ सय ७६ किलोमीटर लोकमार्गको सबै भन्दा बढी १ सय ३७ किलोमिटर सडक खण्ड बागलुङमा पर्छ । शर्माका अनुसार लोकमार्गको बागलुङ खण्डमा २२ वटा निमार्ण कम्पनीमार्फत काम भैरहेको छन् ।

गत बर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीको कारण सुस्त भएको निमार्ण पुन द्रुत गतिमा अघि बढेको छ । लोकमार्गको  उपल्लाचौर देखि बिहुको तल्लो भाग सम्म १४ किलोमीटर सडक चौडा गर्ने काम भैरहेको छ भने बिहुको माथिल्लो भाग सम्म १२ किलोमिटर गत आर्थिक बर्षमानै ग्राभले भैसकेको छ ।

यस्तै घोडाबाँधे देखि हटीया बजार सम्म  २० किलोमिटर गत बर्षनै कालोपत्रे भैसकेको छ भने हटीयादेखी बृर्तीबाङ सम्म कालेपत्रेको ठेक्का सम्झौता भै काम सुरु भएको डिइ शर्माले जानकारी दिनुभयो । यस्तै बृर्तीबाङ देखि रुकुमको सिमाना पातीहाल्ने सम्म पनि ४२ किलोमीटर कालोपत्रेको लागि ठेक्का सम्झौता भइसकेकोले अब काम सुरु हुने शर्माले न्युज २४ लाइ बताउनुभयो ।

बागलुङमा लोकमार्ग मालढुङ्गा देखिनै भएपनि मालढुङ्गा देखि उपल्लाचौर सम्म यस अघिनै कालोपत्रे भैसकेको थियो । लोकमार्गको बागलुङ खण्डमा ४ ठाउमा  विवाद देखीएको छ । बागलुङ नगरपालीका भित्र ३ ठाउँमा र गल्कोटको मल्लमा मुआब्जाको माग गर्दै अदालतमा उजुरी परेका छन् ।

अदालतमा उजुरी परेपनि विवादीत क्षेत्रमा काम नरोकिने  शर्माले प्रष्ट पार्नुभयो । साथै लोकमार्गको  बागलुङ खण्डमा १८ ओटा मोटरेवल पुल निमार्णको काम भैरहेको छ । मध्य पहाडीक्षेत्रका २५ जिल्ला र ती जिल्लाका २१५ बस्तीलाई जोड्ने यो लोकमार्गबाट कम्तीमा ७० लाख जनता प्रत्यक्षरुपमा लाभान्वित हुने छन् भने सडक सञ्जालमा नजोडिएका केही जिल्ला र सदरमुकाम पनि सडकको राष्ट्रिय सञ्जालमा जोडिँदै छन्।

 

LIVE TV