
काठमाडौँ, सरकारले मदिराजन्य र सुर्तीजन्य वस्तुमा लाग्ने अन्तःशुल्कमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।
आगामी आवको बजेट संसद्मा पेस गरेसँगै प्रस्तुत आर्थिक विधेयक, २०७३ बमोजिम भौतिक नियन्त्रण र स्वयम् निष्काशन प्रणालीअन्तर्गत प्रशासन हुने मुख्य वस्तुमा लाग्ने अन्तःशुल्कका दरमा वृद्धि गरी राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको हो ।
मदिराजन्य पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थ एवम् फलाम आदिमा परिमाणगत आधारमा र टेलिभिजन, प्लास्टिकजन्य वस्तु, सवारी साधन आदिमा मूल्यगत आधारमा अन्तःशुल्क लगाइएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
अन्तःशुल्क वस्तुको आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने कर हो । करको भार अन्तिम उपभोक्तामा पर्ने भएकाले यो अप्रत्यक्ष कर पनि हो । सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने वस्तु तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाइने गरिन्छ ।
व्यवहारमा नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएपछि भन्सार शुल्कको दर घटाउँदै लगिएका सन्दर्भमा उक्त शुल्कको क्षतिपूर्तिका लागि पैठारी भएर आउने टेलिभिजन, टेलिफोन, माइक्रोफोन, जङ्क फुड(पत्रु खानेकुरा), सिमेन्ट, मार्बल, टायल्स, फलाम, पेन्ट्स, अप्टिकल फाइबर आदि वस्तुमा पनि अन्तःशुल्क असुल गर्ने गरिएको छ ।
अन्तःशुल्क राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न उपाय अपनाइएका छन्, त्यसमध्ये त्यसको प्रशासन पनि पर्छ । अन्तःशुल्क प्रशासन भौतिक नियन्त्रण र स्वयम् निष्काशन प्रणालीमा आधारित छ । रासस