१७ जेष्ठ २०७३, सोमबार

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको प्रष्ट पार्नुभएको छ ।

उहाँले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि नेकपा एमाले तयार रहेको समेत बताउनु भएको छ ।

प्रेस चौतारी नेपालद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा   वरिष्ठ नेता नेपालले सक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको उल्लेख गर्दै यसले नेपाली जनतामा आशा जगाएको बताउनुभयो ।

कृषि, उर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उहाँको तर्क छ ।

राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजवुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने नेता नेपालको भनाइ छ । सरकारलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्ने बताउँदै उहाँले काममा कसैले बदमासी गर्छ भने त्यसलाई कारवाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

 

LIVE TV