१७ जेष्ठ २०७३, सोमबार

बङ्गलादेश राजनीतिकी प्रभावशाली नेतृ एवं पूर्व प्रधानमन्त्री बेगम खालेदा जियामाथि हिंसा फैलाएको आरोपमा मुद्दा दायर भएको छ । उनीसंगै उनको पार्टीका ५१ जना विरुद्धपनि मुद्दा परेको छ ।

बङ्गलादेशको दोस्रो ठूलो दल बङ्गलादेश नेश्नलिष्ट पार्टी बिएनपीकी प्रमुख एवं पूर्व प्रधानमन्त्री जियामाथि गत बर्ष राजधानी ढाकामा आयोजित सरकार विरोधी आन्दोलनताका हिंसा भड्काउन प्रमुख भूमिका खेलेको आरोप लगाईएको छ ।

ढाकाको प्रान्तीय अदालतमा दायर मुद्दामा जियाले कार्यकर्तालाई अनावश्यकरुपमा उचालेको र हिंसा भड्काउन सक्रिय भूमिका खेलेको आरोप लगाईएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

सोही आरोपमा विएनपीको केन्द्रिय नेताहरु एवं कार्यकर्तासहित थप ५१ जनामाथि पनि अदालतमा मुद्दा दायर गरिएको छ ।  मुद्दा दायर गरिएका सवैमाथि अस्थिरता बढाएको, शान्ति खल्वलाएको, साम्प्रदायिक भड्कावमा  सहयोग पुर्याएको आरोप लगाउँदै कडा कारवाहीको मागसमेत गरिएको छ ।

बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाको प्रमुख प्रतिद्धन्द्धीसमेत मानिएकी विपक्षी नेतृ जियाविरुद्धको कारवाहीलाई बङ्गलादेशका कतिपय राजनीतिक विश्लेषकहरुले आसन्न चुनाव अगाडि सुरु गरिएको बदलाको राजनीति भनि टिप्पणी गरेका छन् ।

बङ्गलादेशकी बर्तमान प्रधानमन्त्री हसिना यतिखेर निकै लोकप्रिय छिन् । उनको सरकारले सुरु गरेको आर्थिक तथा सामाजिक सुधारका कार्यक्रमहरुले गर्दा बङ्गलादेशको अर्थतन्त्रमा निकै सुधार आएको बताईन्छ ।

लामो समय राजनीतिक अस्थिरता र अशान्तिले भयावह अवस्थाको सामना गरेको बङ्गलादेशमा करिव ७ बर्षयता स्थिरतासंगै व्यापक आर्थिक परिवर्तनहरु आएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । हसिना सरकारले आतंकवाद तथा आन्तरिक अपराधी विरुद्ध कडा कारवाही चलाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV