
काठमाडौँ- आइतबार नेपाल र भारतका प्रहरीको संयुक्त टोलीले अपहरण मुक्त गराएको भनिएका उद्योगपति सुरेश केडिया १० करोड रुपैयाँ फिरौती बुझाएर अपहरण भुक्त भएको भारतीय समाचार च्यानल आजतकले दावी गरेको छ ।
भारतीय समाचार संस्था आजतकले केडिया अपहरणमा सुरुदेखि नै विशेष कभरेज गर्दै आएको थियो । आजतकले केडिया परिवार स्रोतलाई उदृत गर्दै १० करोड फिरौतीमा रिहा भएको उल्लेख गरेको हो ।
समाचार विवरण अनुसार केडिया परिवार सदस्यका अनुसार फिरौती रकम काठमाडौंबाट मुम्बई बठाइएको थियो । पाँच पाँच करोड रुपैयाँ दुई पटक गरेर मुम्बई पठाएपछि अपहरणकारीले आइतबार केडियालाई मोतिहारीको एक गाउँमा छाडेका थिए ।
त्यसपछि अपहरणकारीले नै प्रहरीलाई फोन गरेर केडिया गाउँमा भएको जानकारी दिएका थिए । त्यसपछि मात्र भारतीय प्रहरीले उनलाई भेट्टाएको थियो ।
सो घटनापछि आइतबार रक्सौलमा आयोजित पत्रकार सम्मेलनमा बेतियाका एसपी विनयकुमार तथा मोतिहारीका एसपी जितेन्द्र राणाकै सामुन्ने सुरेश केडियाले पनि कालो चश्मा लगाएका अपहरणकारीले एक ठाउँमा लगेर छोडिदिएको र त्यसपछि मात्र प्रहरीले भेट्टाएको बताएका थिए ।
अर्को रहस्यको विषय के छ भने आफ्ना भाइ अपहरणमा पर्दा समेत केडियाका दाजु एवं सांसद विमल केडिया काठमाडौं छोडेर गृहनगर वीरगञ्ज गएनन् । प्रहरी स्रोतका अनुसार अपहरणकारी दिएको फिरौती रकम उनै विमलले जुटाएका हुन् ।