१७ जेष्ठ २०७३, सोमबार

 

पुनर्वास (कञ्चनपुर), भनिन्छ, दैव पनि बेसहारालाई नै लाग्छ । यस्तै भएको छ पशुपतिदेवी सुनारलाई । विसं २०२८ मा नेपाल सरकारले जग्गाधनी पुर्जा दिएदेखि उपभोग गर्दै आएको उनको जमिन विगत केही वर्षदेखि भारतको अधीनमा गयो ।

उनी पुनर्वास नगरपालिका–८ आनन्द बजार छेउमा रहेको बैलौरी नगरपालिका–१ फटैया बस्ने स्व भीमबहादुर सुनार कि पत्नी हुन् ।

उक्त जमिन भारतबाट छुटाउन दौडधुप गरे । त्यही जमिनको पुर्जा कृषि विकास बैंकमा राखेर ऋण लिए । अहिले जमिन भारतको कब्जामा, पुर्जा कृषि विकास बैंकको अधीनमा ! बैंकबाट निकालिएको पैसा जिल्ला धाउँदामै सकियो । त्यसैको पीरमा रहेका उनी ठूलै रोगको सिकार हुन पुगेको अनुमान गरियो, तर उनले पत्तासमेत लगाउन सकेनन् उनलाई के रोग लागेको थियो भनेर । उपचार गराउन न त पैसा छ, न त बेच्ने कुनै सम्पत्ति ! भएको सम्पत्ति सबै भारतले कब्जा ग¥यो । बचेको अलिकति जमिनमा सानो खर र माटोको झुपडी छ । दुई वर्षअघि उपचार गराउने पैसाको अभावमा श्रीमान्को मृत्यु भयो । अहिले उनी पनि त्यही स्थितिबाट गुज्रिरहेकी छिन् ।

उनको घर पुग्दा एक वृद्ध महिला पिँढीमा सुतिरहेको देखियो । हेर्दा लाग्थ्यो कुनै कडा रोग लागेर थलिएजस्तो । परालको गुन्द्रीमा सुतिरहेकी पशुपतिदेवीको यथार्थ कुरा सुन्दा लाग्थ्यो हामी संसारको कुनै यस्तो देशमा छौँ जहाँ कहिलै न्याय पाइँदैन, कुनै सरकार छैन ।

उनी भन्छिन् – “नेपाल सरकारले २०२८ सालताका बस्ती बसाल्दा दिएको एक बिघा ६ कट्ठा जमिन अहिले भारतको कब्जामा छ । बोलिदिने कोही छैन । यस्तो लाग्छ यो देशमा सरकार छैन । सरकार छैन नै भनौँ भने प्रत्येक वर्ष मालपोत लिन्छ ।” जनताको दुःख प्रत्यक्ष देख्दासमेत न त स्थानीय निकायबाट कुनै पहल भएको देखिन्छ, न त केन्द्रीय तहबाट । सीमा समस्याका बारेमा नेपाल सरकारले भारतसँग कूटनीतिक पहल नगरेकै हो त ? आखिर गरेको छ भने किन हुन्छ सीमामा यस्तो ज्यादती ? जनताको सरकारसँग प्रश्न छ ।

“घरमा बिहान–बेलुका छाक टार्न धौ धौ छ, जेठो हुन्या अर्काको ट्याक्टरको ड्राइभर गरेर मुखमा माड लगाइरा’छ” – पशुपतिदेवी भन्छिन् ।

जेठो छोरा प्रेमबहादुर सुनारले पनि स्थानीय नेता तथा बुद्धिजीवीहरुलाई आफ्नो समस्याबारे कुरा उठाइदिन पटकपटक पहल गरेकै हो । प्रेमबहादुर अब उक्त जमिन नेपाल सरकारले आफूहरुलाई फर्काइदेला भन्ने आशसमेत मार्नुपर्ने अवस्थाको सिर्जना भएको बताउँछन् । बेलाबेलामा टेलिभिजन र पत्रपत्रिकामार्फत भारततिर परेको जमिनको प्रसङ्ग नउठाइएको पनि होइन । तर कहीँ कतै सुनुवाइ भएन । “जमिन भारतको कब्जामा गएदेखि थलिएका बुबालाई चिन्तै चिन्ताले लग्यो ! उपचार गर्ने पैसो पनि भएन,” उनी भन्छन् ।

माइला छोरालाई साउदी अरबमा काम गर्न गएका तर उसको पनि कमाई राम्रो नभएको पशुपतिदेवी बताउँछिन् ।

उनी भन्छिन् – “म बिरामी परेको तीन महिना भैसक्यो । न उठ्न सक्छु न त हिँड्न । खाना खान र ट्वाइलेटसम्म जान नसक्ने भएर बाँच्नु परेको छ । कान्छो छोरो सानै छ । दुई वर्षअगाडि पति बिते, अहिले म थलिए । हेरिदिने कसले ? स्थानीयवासीले पनि आश चैं देखाउँछन् तर समस्या जस्ताको तस्तै ।”

उहाँ भन्छिन् – “अब त कृषि विकास बैंकमा भएको ऋणको ब्याज नतिरेको पनि वर्षांै भैसक्यो । ब्याज कति पुग्यो होला ? पुर्जा फुकुवा गरौँ भने जमिन छैन, त्यसैले त्यो ऋण पनि त्यतिकै छ ।”

साउदीबाट बल्लतल्ल माइलो छोराले पठाएको पैसाले एक पटक कोहलपुरस्थित नेपाल मेडिकल कलेजमा स्वास्थ्य जाँच गराएको तर रोग पत्ता नलागेको उनको भनाइ छ । भारतको लखनऊसम्म गएर जाँच गराएपनि रोग खुट्टिएन ।

अर्का एकजना सँगै प्लट जोडिएको स्थानीयवासी कर्णबहादुर सुनारको पनि यस्तै समस्या रहेको छ । हातमा लालपुर्जा त छ तर जमिन भारततिर परेको छ । कर्णबहादुर पनि आफूले उक्त जमिन फिर्ता गराउन धेरै धाएको र पैसा खर्च गरेको तर जमिन फिर्ता पाउन नसकेको दुखेसो पोख्छन् । “अब त नेपालमा सरकार छैन जस्तो लाग्न थाल्यो । किन सुन्दैन सम्बन्धित निकाय ?”, उनको प्रश्न छ । उहाँका छोरा ललित सुनार विदेशबाट आफ्नो जमिनको लागि केही पहल चालिदिन र आवाज उठाइदिन आग्रह गरिरहेका छन् ।

भारतीय प्रहरी एसएसबी र भारतीय वन अधिकारीले आफूहरुकै जमिनमा जोतखन गर्न हस्तक्षेप गर्दासमेत नेपाली प्रशासनले नबोलिदिएकामा उनीहरुको चित्त दुखेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV