१७ जेष्ठ २०७३, सोमबार

गिद्धमुस्ताङ । विश्वप्रसिद्ध पदमार्ग राउण्ड अन्नपूर्ण पदमार्ग क्षेत्रमा गिद्धको सङ्ख्याको गणना गर्न थालिएको छ । ग्लोबल प्राइमेट नेटवर्कले पदमार्गअन्तर्गत मुस्ताङको मुक्तिनाथ गाविसदेखि कास्कीको घान्द्रुक क्षेत्रसम्म गिद्धको सङ्ख्या र अवस्थाबारे अध्ययन गर्न थालेको हो ।

सन् २००१ देखि लगातार छ वर्षसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहकार्यमा गिद्धको सङ्ख्या गणना गरिए पनि त्यसयता भने रोकिएको छ । यसअघि गणना गरिएकै स्थानबाट फेरि गणना गर्न सुरु गरिएको नेटवर्कका कार्यक्रम निर्देशक दिक्पाल कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, अहिलेसम्मको अध्ययनमा गिद्धको सङ्ख्या विगतको तुलनामा स्थिर नै देखिएको छ ।

मानवीय क्रियाकलापका कारण विश्वव्यापी रुपमै गिद्धको सङ्ख्या लोप हुँदै जाँदा आहार र सुरक्षित बासको अभावका कारण मुस्ताङ आसपासको क्षेत्रमा पनि यसको सङ्ख्या घटेको विगतको अध्ययनले देखाएको छ ।

“सन् २००१ देखि ६ सम्म आइपुग्दा यस क्षेत्रमा गिद्धको सङ्ख्या घट्दै गएको थियो, तर यो लामो अवधि पछि हेर्दा केही रुपमा बढेको पाएका छौँ”, उहाँले भन्नुभयो । टोलीले मुक्तिनाथ, लोप्रा, मार्फा र कोबाङ क्षेत्रमा अध्ययन गरिसकेको छ भने घासा, म्याग्दीको तातोपानी, चित्रे र घान्द्रुक क्षेत्रमा थप अध्ययन गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV