१७ जेष्ठ २०७३, सोमबार
Flag-Pins-India-Nepal_1नेपाल–भारतबीचका सन्धि/सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रवुद्ध ब्यक्ति समूह (ईपीजी) को पहिलो संयुक्त बैठक आगामी असार १६ र १७ मा काठमाडौंमा बस्ने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
नेपाली विज्ञ समूहका संयोजक डा. भेषबहादुर थापाका अनुसार बैठकबारे आइतबार टुंगो लागेको हो । समूहमा नेपालका तर्फबाट थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र राजन भट्टराई सदस्य छन् । भारतका तर्फबाट भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीको संयोजकत्वमा प्राध्यापक महेन्द्र पी लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद छन् । दुवै पक्ष बैठकको तयारीमा जुटेका छन् ।
यसअघि नेपालले दिएको समयमा भारत असहमत देखिएको थियो । अहिले भारतले प्रस्ताव गरेको तिथिको आसपास पारेर बैठक गर्ने सहमति जुटेको हो । चार महिनाअघि गठित समूहको संयुक्त बैठक अहिलेसम्म पनि बस्न नसक्दा यसको औचित्यमाथि नै प्रश्न खडा भएको थियो । परराष्ट्रमन्त्री कमल थापाले भारतीय समकक्षी सुष्मा स्वराजलाई पत्र नै लेखेर काठमाडौंमा पहिलो बैठक गर्ने र त्यसका लागि तिथि उपलब्ध गराइदिन आग्रह गरेका थिए ।
नेपाल र भारत बीचको सम्बन्धमा पछिल्लो समय आएको चीसोपनको असरमा यो बैठकमा पनि परेको हो । सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत अन्य द्विपक्षीय सन्धि/सम्झौताको पुनर्समीक्षा गर्न चार वर्षअघि नै यस्तो संयन्त्र बनाउने सहमति भए पनि २०७१ मा नेपाल–भारत संयुक्त बैठकले यो समूहको कार्यविधिलाई अन्तिम रूप दिएको हो ।

LIVE TV