१५ जेष्ठ २०७३, शनिबार

काठमाडौँ, सरकारले करिब एक दर्जन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७३÷७४ को अनुमानित आय व्ययको विवरण (बजेट) घोषणा गरेको छ ।

व्यवस्थापिका–संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणलाई प्राथमिकतामा राखेर बजेटको स्रोत बाँडफाँड गरेको बताउनुभयो ।

उहाँले जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार एवम् वितरण, सडक, विमानस्थल, सिँचाइ, कृषि, उद्योग, पर्यटन र वनलाई प्राथमिकतामा समावेश गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी सहरी र स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारलाई बजेटले उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो । साथै, बजेटले संविधानको कार्यान्वयन, भूकम्प र आपूर्ति प्रणालीको अवरोधबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, उत्पादकत्व र उत्पादन वृद्धि, आन्तरिक एवम् बाह्य लगानी प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएको छ ।

त्यसैगरी बजेटले आर्थिक क्रियाकलापको विस्तार, आय र रोजगारी वृद्धि, गरिबी घटाउने अवसरको सिर्जना, सामाजिक संरक्षण र गुणस्तरीय सामाजिक सेवालाई प्रमुख उद्देश्यका रुपमा चित्रण गरेको छ । रासस

 

LIVE TV