१४ जेष्ठ २०७३, शुक्रबार

शहरबजारका अधिकांश उपभोक्ताहरु शुद्ध र प्रशोधित हुने विश्वासमा जार र बोतलमा सिलबन्द गरिएको पानी प्रयोग गर्न रुचाउँछन् । तर शतप्रतिशत शुद्ध र प्रशोधित भन्दै जार र बोतलमा बिक्री भइरहेका अधिकांश पिउने पानी गुणस्तरहीन भेटिएका छन् भन्दा केहीलाई आश्चर्य लाग्न सक्छ ।  स्वच्छ र गुणस्तरीय प्रशोधित पानी उत्पादन तथा विक्री गर्न भन्दै सरकारी निकायबाट अनुमति पाएका उद्योगहरुले नै गुणस्तरहीन पानी बेच्दै आएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न पानी उद्योगबाट नमूना संङकलन गरी गरेको परीक्षणमा कतिपय उद्योगले विक्री गर्ने मिनरल वाटर वा जारको पानी प्रदूषित भएको पाइएको जनाएको छ । खानेपानी, घ्यू, दही, दुध, दालमोठ, दुग्धजन्य मिठाई, तयारी चाउचाउलगायतको नमूना परीक्षण गरिएकोमा सबैभन्दा बढी खराबी मिनरल वाटर र जारको पानीमा देखिएको विभागको भनाई छ ।

नमुना परीक्षणमा उपत्यकाको पानीमा बढी मात्रामा पीएच अर्थात अम्लीय र क्षारीयको मात्रा अत्यधिक पाइएको थियो । प्रतिलिटर पानीमा ६ दशमलव ५ देखि ८ दशमलब ५ प्रतिशत पीएचको मात्रा हुनुपर्ने मापदण्डको व्यवस्था भए पनि त्यो भन्दा बढी पाइएको हो । त्यस्ता जारको स्वास्थ्यको दृष्टिले समेत उचित नभएको चिकित्सकहरु बताउँछन् ।

पानी जस्तो चिजमा पनि व्यापारीले आम नागरिकको स्वास्थ्यलाई बेवास्ता गर्नु लज्जास्पद मात्र होइन गम्भीर पनि हो । धेरै जसो सरुवा रोगहरुको माध्यम पानी हुने गरेको तथ्यलाई मध्यनजर राखी शुद्ध पानीको नाममा गुणस्तरहीन पानी उत्पादक र वितरकहरुलाई कानूनी दायरामा ल्याउँन सम्बन्धित निकायले ढिलाई गर्नुहुँदैन ।

 

LIVE TV