१४ जेष्ठ २०७३, शुक्रबार

काठमाडौँ, नेपालको पछिल्लो पर्यटन गतिविधिबारे विश्वको ध्यानाकर्षण भएको छ ।

हङ्कङमा आयोजित ‘ग्लोबल टुरिजम एन्ड हस्पिटालिटी कन्फेरेन्स’मा सहभागी विभिन्न मुलुकका सरोकारवालाले नेपालको पर्यटन क्षेत्रको समसामयिक अवस्थाबारे जिज्ञासा राख्नुका साथै नेपाल घुम्ने इच्छासमेत व्यक्त गरेका छन् ।

सम्मेलनका क्रममा अधिकांश अन्तर्राष्ट्रिय सहभागीले नेपालको पर्यटनबारे चासो व्यक्त गर्दै भ्रमणको आकाङ्क्षा लिएका सहभागी प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा) नेपाल च्याप्टरका कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिनुभयो ।

पाटा नेपाल च्याप्टरअन्तर्गत रहेका विद्यार्थी समूह ‘पाटा नेपाल स्टुडेन्ट च्याप्टर’ले हङ्कङको होटेल आइकनमा यही मे १६ देखि १८ सम्म भएको सम्मेलनमा सहभागिता जनाएको थियो ।

स्कुल अफ होटेल एनड टुरिजम् म्यानेजमेन्टद्वारा आयोजित उक्त सम्मेलनमा नेपालका १४ सहित विश्वका हङ्कङ, थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, मकाउ, सिङ्गापुर, अमेरिकालगायत ३० देशका करिब ३०० को सहभागिता थियो ।

अधिकृत बुडालसहित नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम् म्यानेजमेन्ट र काठमान्डु एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटीका विद्यार्थी गरी नेपालबाट जम्मा १४ जनाले सहभागिता जनाएका हुन् ।

‘इन्नोभेसन–रिसर्च–एजुकेसन’ भन्ने मूल नाराका साथ आयोजित सो सम्मेलन विभिन्न शिक्षाविद्, बुद्धिजीवी, विद्यार्थी र अनुसन्धान कर्ताका लागि महत्वपूर्ण ‘नेटवर्किङ प्ल्याटफर्म’ रहेको बुडालले बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा विश्व ख्यातिप्राप्त प्राध्यापकद्वारा पर्यटन क्षेत्रको समसामयिक प्रवृत्ति, चुनौती तथा अवसरका बारेमा विभिन्न प्रस्तुति तथा अन्तक्र्रिया ज्ञान र अनुभवका लागि उपयोगी थियो ।

विज्ञले युनिभर्सिटी तथा कलेजले रिसर्चमा जोड नदिई अध्यापनमा मात्रै केन्द्रित हुने प्रवृत्ति नेपाललगायत विश्वका अधिकांश पर्यटन तथा अतिथि सत्कार शैक्षिक संस्थाको कमजोरी रहेको औँल्याएका थिए ।

पाटा नेपाल च्याप्टरले पनि हङ्कङ पोलिटेक्निक युनिभर्सिटीसँगको सहकार्यमा नेपालमा मानव संशाधन विकाससम्बन्धी विभिन्न विधामा तालिम तथा गोष्ठी सञ्चालन गर्ने योजना लिएको जनाएको छ । रासस

 

LIVE TV