१३ जेष्ठ २०७३, बिहीबार

आठ वर्ष अघि कोशी कटानबाट पीडित बनेका पश्चिम कुशाहाका स्थानीयवासीहरु वैकल्पिक जीविकोपार्जनका लागि  पर्वल खेती तर्फ आकर्षित भएका छन् ।

कोशीको बाढीले जमिन वगरमा परिणत भएसँगै उनीहरुले जीविकोपार्जनको मुख्य स्रोत नै पर्वल खेतीलाई आधार बनाएका छन् ।

वि. सं.२०६५ साल भदौ २ गते सप्तकोशीले सुनसरीको पश्चिम कुसाहामा तटबन्ध भत्काउँदा जिल्लाका पश्चिम कुसाहा, हरिपुर, मधुवन र श्रीपुरका ५० हजार जना विस्थापित भएका थिए भने अर्बौको क्षति भएको थियो ।

घटना भएको आठ वर्ष लाग्दा समेत विस्थापितहरु अहिलेसम्म पूर्ण रुपले स्थापित हुनसकेका छैनन । २ सय परिवारहरु विस्थापित भई अहिले करिब ४० घर परिवार मात्रै बगर कुरेर बसेका छन् ।

वर्षमा तीन बाली सम्म उब्जनी हुने जमिन बगरमा परिणत भए पछि उनीहरुको जीविकोपार्जन गर्ने आधार नै हराएको थियो । तर   बगरमा  बसेका स्थानियहरु पछिल्लो १ वर्ष अघि देखि पर्वल खेतीबाट राम्रो आयआर्जन गर्न सफल भएका छन् ।

पर्वल खेतिका लागि फागुन देखि ६ महिनालाई उत्तम समय मानिन्छ । त्यही समयमा लगाइएको पर्वल खेतिबाट वर्ष भरि पुग्ने आम्दानी गर्नु परेको उनीहरु बताउँछन् । पर्वल खेतिबाट जीविकोपार्जन सहज हुँदै गए पनि सिचाईको अभावले सोचे जस्तो आम्दानी गर्न नसकेको नेपाली कांग्रेसका नेता जमिल अन्सारी बताउँनुहुन्छ ।

आठ वर्ष अघि कोशी कटानबाट पीडित बनेका पश्चिम कुशाहाका स्थानीयवासी पर्वल खेति तर्फ आकर्षित भए पछि उनीहरुको जीवनशैली पनि परिवर्तन हुँदै गएको छ ।

 

LIVE TV