१२ जेष्ठ २०७३, बुधबार

4d7f298f8d228dcd1aa2f1b94cba9d37नेकपा माओवादी केन्द्रअध्यक्ष दाहालपछि दोस्रो वरीयताको नेता को हुने भन्नेमा एमाओवादीका उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठ र नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष रामबहादुर थापाबीच टक्कर सुरु भएको छ ।

दुई नेताबीच कुरा मिल्न नसक्दा पदाधिकारी चयन सकसपूर्ण बनेको नेताहरू बताउँछन् ।

 

ठूलो संख्याका साथ एकतामा आएको, एकता गर्दा पहिलो पद छाडेपछि दोस्रो स्वतः अर्को पक्षले पाउनुपर्ने थापा समूहको तर्क छ । साथै, थापा वरीयतामा अगाडि हुनुपर्ने एकताबाट आएका अधिकांश नेता तथा एमाओवादीभित्रकै जनयुद्ध लडेका नेताहरूको तर्क रहेको छ ।

एमाओवादीका उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठ र नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष रामबहादुर थापाबीच टक्कर सुरु भएको छ । दुई नेताबीच कुरा मिल्न नसक्दा पदाधिकारी चयन सकसपूर्ण बनेको नेताहरू बताउँछन् ।

एमाओवादीभित्रकै नेताहरूले समेत थापाको पक्ष लिएपछि श्रेष्ठलाई नै दोस्रो वरीयता दिने मनस्थितिमा रहेका अध्यक्ष दाहालसमेत अप्ठ्यारोमा परेका हुन् । एक नेताका अनुसार अध्यक्ष दाहाल नै श्रेष्ठको पक्षमा रहँदारहँदै बहुमतको भनाइ अस्वीकार गर्न नसक्दा तत्कालका लागि पदाधिकारी चयन नै हुन नसकेको हो ।

एकतापछि आएका नेताहरू र एमाओवादीमा रहेका अन्य नेताहरूबीच पनि वरीयताक्रममा विवाद रहेको छ । उपाध्यक्ष, उपमहासचिव तथा सचिव पदमा दुई वा सोभन्दा बढी बनाएर विवाद हल गर्ने प्रयास भए पनि वरीयतामा कुरा नमिल्दा अड्किएको हो ।

‘दुई|तीन दिन त श्रेष्ठ र थापाबीचकै विवादमा कुरा अल्झियो, अहिले अन्य एकताबाट आउने र एमाओवादीमा रहने नेताहरूबीचमा पनि वरीयताको विषयमा विवाद देखियो,’ एक नेताले राजधानीसँग भने, ‘लामै समय लिएर छलफल गरेर टुंग्याऊ भनेर पदाधिकारी चयनको विषय पछि सारिएको छ ।’

बैठकमा अध्यक्ष दाहालले केन्द्रमा पदाधिकारी चयन गर्दा तल्लो तहसम्म असर पर्ने देखिएको र केही विषय मिलाउन अलिक छलफल गरेरै जाऔं भनेर पदाधिकारी चयनपछि गरिने बताएका थिए । ‘बहुपदीय व्यवस्थाअनुसार नै पदाधिकारी चयन गर्ने विधानमै उल्लेख छ,’ बैठकमा दाहालको भनाइ थियो, ‘तल्लो तहबाट टुंग्याएपछि अलिक छलफल गरेर केन्द्रमा टुंग्याऔं ।’

नवनियुक्त प्रवक्ता पम्फा भुसालले प्रदेशदेखि गाउँसम्मका एकता प्रक्रिया सम्पन्न गरेपछि पार्टीमा समीक्षा र छलफल गरेर पदाधिकारी चयन गर्ने निर्णय भएको बताइन् ।पदाधिकारी चयनमा नेताहरूबीच वरीयताको विषय तथा आकांक्षी बढी हुँदा विवाद बढेपछि तत्कालका लागि पदाधिकारी चयन नगर्ने र एकता सभापछि छलफल गरेर टुंगो लगाउने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो ।

एमाओवादी अध्यक्ष दाहालले आइतबारको महाधिवेशन आयोजक समिति बैठकमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक|एक जना रहने तर उपाध्यक्ष, उपमहासचिव र सचिव भने दुईदेखि पाँचजनासम्मको बनाएर जाने प्रस्ताव गरेका थिए । यसरी केन्द्रमा नै पदाधिकारी ठूलो बनाउँदा प्रदेश तथा जिल्लामा एकता तथा पदाधिकारी चयन गर्दा पनि केन्द्रको जस्तै विवाद उत्पन्न हुने र पदाधिकारीमा भद्रगोल स्थिति हुने भएका कारण पनि केन्द्रीय पदाधिकारी चयन पछाडि धकेलिएको स्रोतको दाबी छ ।

नेताहरूबीच केन्द्रमा पदका लागि भएको लडाइँप्रति तल्लो तहका कार्यकर्ता भने आक्रोशित बनेका छन् । उनीहरूले आफ्नै नेताविरुद्ध सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरबाट विरोध सुरु गरेका छन् । नेकपा माओवादी केन्द्र अध्यक्ष दाहालको संयोजकत्वको हेडक्वार्टरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ, मणि थापा, मातृका यादव, तिलक परियार र जयपुरी घर्ती छन् ।

LIVE TV