१२ जेष्ठ २०७३, बुधबार

हवाईसँगै स्थलमार्गबाट पनि भित्रिन थाल्यो नक्कली नोट

88efb9ce5c908c712ae20a5bcca543b6भारतीय जाली नोट तस्करी गर्ने समूहले जाली नोट नेपाल ल्याउन स्थल र हवाई मार्ग दुवैलाई बराबरी प्रयोग गर्न थालेको पाइएको छन् । प्रहरीले हवाई मार्गबाटै नक्कली नोट भित्रने गरेको बताए पनि गृह मन्त्रालयका अधिकारीहरूले स्थल मार्ग पनि जाली नोट भिœयाउन उत्तिकै प्रयोग भइरहेको बताएका हुन् ।

हवाई मार्ग र स्थलमार्गमार्फत तस्करहरूले काठमाडौंंलाई केन्द्र मानेर यहीबाट मुलुकका विभिन्न भाग र भारततर्फ पठाउने गरेका छन् । काठमाडौंंमा रहेका भारतीय नागरिकलाई सटही गरी बढीभन्दा बढी मुद्रा करोबारको स्थल यसलाई बनाउन थालेको प्रहरीले जनाएको छ । ‘भारतीय नक्कली नोट कारोबारीहरूले स्थल मार्ग पनि प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ, पछिल्लोपटक स्थल मार्गबाटै ल्याउने गरेको हामीलाई सूचना प्राप्त भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव यादव कोइरालाले राजधानीसँग भने । नेपाल प्रहरीको विशेष ब्यूरोले १९ हजार ५ सय नक्कली अमेरिकी डलर, ३६ लाख नक्कली भारतीय रुपैयाँसहित पाँचजना कारोबारी पक्राउ गरेको थियो ।

पक्राउपछि विमानस्थलको सुरक्षा व्यवस्थालाई मन्त्रालयले बढी नै सजग गराएको छ भने जाली नोट कारोबार रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । ‘जाली नोटका तस्करहरूले हवाई मार्गबाट मात्रै होइन, स्थल मार्गलाई बढी प्रयोग गरेको देखिन्छ, हामीले विमानस्थलका सुरक्षा निकाय र अध्यागमन कार्यालयलाई अवैध धन्दा हुन सक्नेतर्फ सचेत मात्रै होइन, सजग पनि गराएका छौं,’ गृह प्रवक्ता कोइरालाले भने । काठमाडौंमा बसेर काम गरिरहेका भारतीय नागरिकहरू घर जाने बेलामा भारु सटही गर्ने तथा भारतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरूलाई सटही गर्ने योजनाका साथ पछिल्लोपटक जाली नोटका तस्करहरूले काठमाडांैलाई केन्द्र बनाउन थालेको दाबी प्रहरीले गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक प्रताप सिंह थापाले उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरूलाई लक्ष्य गरी भारतीय नोट सटही योजना बनाएर काठमाडौं ल्याएको हुन सक्ने बताए ।

जाली नोटका कारोबारीहरू पक्राउ परेपछि प्रहरीले गरेको अनुसन्धानअनुसार नेपालमै पनि यसको कारोबार विस्तार गर्ने उद्देश्यका साथ काठमाडौं ल्याइएको तथ्य खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले पाकिस्तानी नागरिक सामा नाजलाई ८ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गोल्डेन गेट सिनामंगलबाट जाली अमेरिकी डलर १९ हजार ५ सय र जाली भारतीय रुपैयाँ ३६ लाखसहित पक्राउ गरेसँगै नक्कली डलरको कारोबारी रहेको रहस्य खुलेको थियो । सामा नाज कराँचीबाट दोहा हुँदै कतार एयरवेयजबाट काठमाडौं आएकी थिइन् । सुटकेसमा फल्सबटम बनाई तथा विभिन्न खाद्य सामग्रीका प्याकेटभित्र जाली मुद्रा प्याकिङ गरी हवाई मार्गबाट काठमाडौं ल्याउने गरेको, जाली मुद्रा काठमाडौंमा रिसिभ गरी स्थानीय वितरकलाई वितरण गर्ने गरेको प्रहरीको भनाइ छ ।

जाली मुद्रा काठमाडौं उपत्यकासहित अन्य सहरमा पु¥याउने गरेको, जाली मुद्रा पठाउने व्यक्तिलाई हुन्डीमार्फत रकम भुक्तान गर्ने गरेको पनि प्रहरीको दाबी छ । नक्कली डलर नेपालमा पहिलो पटक बरामद भएको जनाउँदै प्रहरीले यसअघि नमुनाका रूपमा तीनवटा नक्कली डलर काठमाडौं ल्याएको पनि जनाएको छ । विशेष ब्युरोका प्रमुख डीआईजी बमबहादुर भण्डारीले नेपाली बजारमा नक्कली डलर आएको स्वीकार गरे पनि त्यसको परिमाणबारे केही बताउन चाहेनन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले नक्कली भारतीय रुपैयाँलाई सक्कली भनी सटही गरिरहेको अवस्थामा ३ लाख ३२ हजार ५ सयसहित दुईजनालाई महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको थियो ।

विशेष ब्युरोको थप सूचनाका आधारमा सो कारोबारमा संलग्न अन्य पाँचजनालाई समेत १६ लाख ५४ हजार ५ सय नक्कली भारुसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिरी–७ घर भई हाल धुम्बाराही बस्ने मीरा जिरेल, बूढानीलकण्ठ नगरपालिका–१ कपन बस्ने सुमन मल्ल, सप्तरी मलहनमा–९ घर भई धुम्बाराही बस्ने तारणीप्रसाद ठाकुर, भारत जमोई सिमुलतल्ला थाना तेल्वाबजार घर भई सिरहा–७ मैसोथा बस्ने अरुण, जेसेफ, युसुफ खान, राजु, विजय गुप्ता भनी बताउने बैजनाथ गुप्ता, बुटवल–३ कालिकानगर रूपन्देही घर भई गोंगबु बस्ने विजयराज शर्मा, जुहाङ–५ गुल्मी घर भई टोखा नगरपालिका–१४ महादेवटार बस्ने सनद प्रधान र सिलगढी–२ डोटी घर भई कालोपुल बस्ने अमृतमान श्रेष्ठ रहेका छन् । पक्राउ परेका बैजनाथ गुप्ता लागूऔषध मुद्दामा २०५२ देखि २०६७ सालसम्म केन्द्रीय कारागारमा थुनामा रहेको थिए भने विजय शर्मा लागूऔषध मुद्दामा २०५८ सालदेखि २०६७ सालसम्म नक्खु कारागारमा थुनामा रहेका थिए ।

पक्राउ परेका गुप्ता पाकिस्तानी नागरिक अब्दुल वाहकमार्फत नक्कली नोट काठमाडौं ल्याएर आफनो नेटवर्कबाट वितरण गर्दै आएका थिए । उनले आफूलाई पाकिस्तानी नागरिक हाजीको उत्तराधिकारी बताउँदै आएका थिए । कारोबार विस्तारका लागि उनले युसुप, जोसेफ, बैजनाथ, राजु आदि नामबाट चिनाउँदै आएका थिए । नेपालमा उनै बैजनाथ गुप्ता पछिल्लो पटकका मुख्य कारोबारी हुन् ।

LIVE TV