११ जेष्ठ २०७३, मंगलवार

पाँचथरको सदरमुकाम फिदिम बजारमा सुरक्षा चुनौतिलाई ध्यानमा राखेर सीसी क्यामरा जडानको अभियान थालिएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र पाँचथरको पहलमा फिदिम नगर क्षेत्रमा धमाधम सीसी क्यामरा जडान गर्ने काम भइरहेको छ ।

फिदिम नगर क्षेत्रलाई अपराधरहित, सुरक्षित बनाउन सीसी क्यामरा जडान थालिएको हो । सीसी क्यामरा जडानपछि आपराधिक गतिविधि नियन्त्रण र अनसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

संसद बिकास कोष, राजनीतिक दल, फिदिम नगरपालिका, उद्योग बाणिज्य संघ, जिल्लास्थित बिभिन्न संघ संस्थाको १८ लाख रुपैयाँको लागतमा २८ वटा सिसी क्यामेरा जडान गरिनेछ । सिसी क्यामरा जडानपछि फिदिमको सुरक्षा चुनौति निकै सहज हुने उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष मित्रप्रसाद काफ्लेले वताउनुभयो ।

फिदिमनगरको शनिवारे हटिया लाईनदेखि चारवरेसम्म र बसपार्कदेखि जिल्लाप्रहरी कार्यालयको गेटसम्मको क्षेत्रमा क्यामेरा जडान हुने भएको छ । योसँगै फिदिमनगर अब २४ सै घण्टा सिसीटीभीको निगरानीमा रहने भएको छ । पहिले पनि यस क्षेत्रमा सिसी क्यामरा जडान भए पनि त्यसको रेखदेख र संरक्षण नहुँदा त्यो प्रभावकारी हुन सकेको थिएन । तर अवको जोडिएको सिसी क्यामरा भने प्रभावकारी हुने स्थानीयहरुको अपेक्षा छ । यसका लागि जडान गरिएका सिसी क्यामराहरुको संरक्षणमा ध्यान दिनुपर्ने उनीहरुको कथन छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव मोहनकुमार दाहालको संयोजकत्वमा सिसि क्यामेरा जडान तथा रेखदेख र मर्मत सम्भार उपभोक्ता समिति समेत गठन गरिएको छ ।

 

LIVE TV