११ जेष्ठ २०७३, मंगलवार

pak ame

आफ्नो भूमिभित्र अन्र्तराष्ट्रिय कानुनको उल्लङ्घन गर्दै ड्रोन आक्रमण गरिएको भन्दै पाकिस्तानले अमेरिकाप्रति आक्रोस पोखेको छ । अमेरिकाको व्यवहारले दुई देशबीचको सम्वन्धमा चिसोपन आउने चेतावनी पनि पाकिस्तानले दिएको छ ।

पाकिस्तानले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाद्धारा पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा एक दर्जन ड्रोन हमला गरिएको भन्दै आपत्ति जनाएको हो । पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले पाकिस्तानका लागि अमेरिकी राजदूत डेभिड हेललाई विदेश मन्त्रालयमा बोलाई अनधिकृतरुपमा ड्रोन आक्रमणवारे आपत्ती जनाएका हुन् ।

अमेरिकी सेनाको पछिल्लो योजनावद्ध ड्रोन आक्रमणमा परी अफगान तालिवानी विद्रोही नेता मुल्लाह अख्तर मनसुरको मृत्यु भएको थियो । मनसुरको मृत्युलाई अमेरिकाले तालिवानी विद्रोही विरुद्धको पछिल्लो सफल कारवाही बताएको थियो ।

पाकिस्तानले आफ्नो जानकारी र स्विकृतविना गरिएको आक्रमणले संयुक्त राष्ट्र संघको बडापत्र र दुई देशबीचको सम्वन्धको मर्म विरुद्ध भएको अमेरिकी राजदूत समक्ष बताएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । पाकिस्तानी क्षेत्रमा अमेरिकी ड्रोन आक्रमणलाई लिएर पाकिस्तानमा तीव्र विरोध हुँदै आएको छ । मुख्य गरी पाकिस्तानी नागरिक समाजले अमेरिकाको हर्कतले आतंकवादलाई थप मलजल गरेको आरोप लगाउँदै यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गर्दै आएका थिए ।

सन् २००१ वाट अफगानिस्तानी द्धन्द्धमा सहभागी अमेरिकाले आतकंवाद विरुद्धको आक्रमण सफलता हासिल गर्न सकेको छैन् । झनै अमेरिका सेनातर्फ मानवीय क्षति र ठूलो मात्रामा आर्थिक क्षति भएको भन्दै अमेरिकाभित्रै पनि अफगानिस्तान नीतिलाई निकै आलोचना हुने गरेको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

अमेरिकाको ड्रोन आक्रमणवारे पाकिस्तानको आपत्तिको सम्वन्धमा अमेरिकाले अझसम्म कुनै प्रतिक्रिया नदिएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

 

LIVE TV