११ जेष्ठ २०७३, मंगलवार

मोबाइलबाट हुने साइबर अपराध बढ्दै गएपछि यतिबेला मोबाइलको आइएमइआई ट्राकिङको बहस सुरु भएको छ । सरकारले अनिवार्यरुपमा मोबाइलको आइएमइआई दर्ता गर्न÷गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले यसको दर्ता सुरु गरेको छ ।

आइएमइआई दर्तापछि अब चोरी वा हराएका, करछली र नक्कली आइएमइआई प्रयोग गरिएका मोबाइलले काम गर्ने छैनन् ।

मोबाइलबाट हुने साइबर अपराधमा वृद्धि हुन थालेपछि यतिबेला सरकारको निर्देशनमा नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइलको आइएमइआई अर्थात् इन्टरनेशनल मोबाइल इक्युपमेण्ट आइडेण्टीटी नम्बर दर्ता सुरु गरेको छ । वैशाख १ गतेबाट दर्ता सुरु गरेर ६ महिना दर्ताको समय दिएको प्राधिकरणले कात्तिकपछि भने दर्ता नभएका मोबाइललाई कडाई गर्ने भएको छ ।

के हो आएमइआई नम्बर ?

मोबाइल फोनको पहिचान गर्ने विशिष्ट अंक हो आइएमईआई । यो अन्य कुनैपनि अर्को मोबाइलसँग मेल खाँदैन र प्रत्येक मोबाइलको आएमईआई फरकफरक हुन्छ । यस नम्बरबाट मोबाइल सेटको बारेमा जानकारी हुन्छ भने त्यहाँ सिमकार्ड राखेपछि कसले कुन स्थानबाट कसरी चलाइरहेको छ मोबाइल सेवा प्रदायकलाई जानकारी हुन्छ ।

नेपालमा चोरीका मोबाइलदेखि कर छली गरेर ल्याइएका मोबाइल पनि प्रयोगमा आएपछि यतिबेला मोबाइल प्रयोग गर्नुपूर्व नै यसको दर्ता प्रक्रिया सुरु भएको हो । प्राधिकरणले वैशाख १ गतेबाट मोबाइलको आएमईआई दर्ता गरेर ६ महिनाको समय दिएको छ । तत्कालका लागि सही तरिकाबाट मोबाइल खरिद गरेको भए अहिलेलाई आँफै दर्ता हुनेछ । तर चोरीका वा आइएमइआई परिवर्तन गरिएका मोबाइल भने त्यसपछि चलाउन मिल्ने छैन ।

अहिले मुख्यतः कर छलीलाई रोक्न, प्रयोकर्ताबारे जानकारी राख्न वा अपराध नियन्त्रण गर्न र चोरी तथा हराएका मोबाइलको अनधिकृत प्रयोग रोक्नका लागि यस्तो गर्न लागिएको प्राधिकरणको भनाई छ ।

यता प्राधिकरणले आएमईआई दर्ता सुरु गरेपछि प्रहरीलाई पनि सहयोग पुग्ने बताइएको छ । अहिले चोरी तथा लुटपाटमा प्रयोग भएको मोबाइलको ट्रेस गर्न प्रहरीलाई धेरै अप्ठेरो परेको छ । त्यसमाथि आएमईआई परिवर्तन गरेर पनि मोबाइल चलाउने गरेकाले त्यसले थप समस्या ल्याएको छ ।

आएमईआई दर्तापछि अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने बताउँछन्, अपराध महाशाखाका अनुसन्धान अधिकृत डीएसपी पशुपति राय ।

दर्ता प्रक्रिया सकिएपछि दर्ता भएका आइएमईआई नम्बरहरु प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई उपलब्ध गराउनेछ । अव नयाँ मोबाइल ल्याउनु पूर्व पनि मोबाइल आयतकर्ताले पहिले नै आइएमईआई दर्ता गराउनुपर्नेछ ।

 

LIVE TV