११ जेष्ठ २०७३, मंगलवार

फलेवास (पर्वत)। स्थानीय शान्ति समिति पर्वतमा द्वन्द्वकालका घटनाको उजुरी दिनेको सङ्ख्या बढेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगदश वर्षे सशस्त्र जनयुद्धका बेला राज्यपक्ष र तत्कालीन विद्रोही पक्षबाट पीडितले स्थानीय शान्ति समिति आई उजुरी दिन थालेका हुन् । सोमबारसम्म ८६ जनाले उजुरी दिएका छन् ।जसमध्ये १० वटा बेपत्ता छानबिन आयोग र ७६ वटा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेका हुन् ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनाका पीडितलाई उजुरी दिन आह्वान गरेपछि पर्वतमा रहेका द्वन्द्वपीडितले उजुरी दिने क्रम बढेको स्थानीय शान्ति समितिका कार्यालय सचिव किशोर सुवेदीले जानकारी दिनुभयो ।

वैशाख ३ गतेदेखि उजुरी दर्ता गर्न सुरु गरिएको थियो । उजुरी दिन विभिन्न सञ्चारमाध्यममार्फत प्रचारप्रसारलाई तीव्रता दिएपछि उजुरी दिन आउनेको सङ्ख्या समेत क्रमशः बढ्दै गएको उहाँले बताउनुभयो । सुवेदीले भन्नुभयोे “अन्तिम म्यादसम्म जिल्लामा रहेका अधिकांश पीडित उजुरीका आइपुग्ने अपेक्षा गरेका छौँ ।” पर्वतमा माओवादी द्वन्द्वकालमा सुरक्षाकर्मी, माओवादी र अन्य पार्टी आबद्ध कार्यकर्ता गरी ९१ जनाको ज्यान गएको थियो ।

त्यसैगरी ४१ जना घाइते, १०५ जना विस्थापित, ६९ परिवारको सम्पत्ति लुटिएको तथा क्षति भएको स्थानीय शान्ति समितिले जनाएको थियो ।

LIVE TV